
बिर्तामोड, माघ १ । प्रहरीले राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीलाई पक्राउ गरेको छ । जातीय तथा धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएका उनलाई बिर्तामोडबाट पक्राउ गरिएको हो ।
हिजो राति पक्राउ परेका कनकाई-९ स्थित घैलाडुब्बाका ४४ वर्षीय राजवंशीले पुस २९ गते भाक्का दिवसको दिन प्रमुख जिल्ला अधिकारीलाई झापा छोडेर जान धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।
त्यस्तै, उनले हिन्दु, बौद्ध तथा मुस्लिम समादायका चाडपर्वमाथि धावा बोलेका थिए । ती समुदायले आफ्नो चाडपर्व डोमालाल राजवंशी रंगशालामा मनाउने अधिकार नभएको र आफूले यहीँबाट रद्द गर्दैछु भन्ने उनले चेतावनी दिएका थिए ।
यिनै आपत्तिजनक अभिव्यक्तिपछि जिल्ला प्रशासन कार्यालय झापाको निर्देशनमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले राजवंशीलाई हिजो राति १०ः३० बजे बिर्तामोडस्थित नाइटलाइफ डान्सबारबाट खाजा भइरहेको अवस्थामा पक्राउ गरेको हो ।
त्यस विषयमा सोधपुछ गर्न जिल्ला प्रशासन कार्यालय झापाले हिजो दिउँसो ३ बजेभित्र उपस्थित गराइदिन प्रहरीलाई पत्र पठाएको थियो ।
उनीसँगै प्रहरीले नाइटलाइफ डान्सबारकी सञ्चालिका ४२ वर्षीया नविना राजवंशी र बिर्तामोड १ बस्ने ४१ वर्षीय रमेश राजवंशीलाई पक्राउ गरेको छ ।
अभयलाई नियन्त्रणमा लिने क्रममा नविना राजवंशी र रमेश राजवंशीले खटिएको प्रहरी टोलीलाई अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई पनि पक्राउ गरेको थियो ।
अभयलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । रमेशलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । नविनालाई भने राति १२ः३५ बजे आवश्यक परेको बखत उपस्थित हुनेगरी उनका श्रीमान भरत राजवंशीको जिम्मा लगाइएको छ ।


