बिर्तामोड, माघ २ । सुरक्षा व्यवस्था फितलो हुँदा र मेला आयोजकको कमजोर व्यवस्थापनका कारण झापाको कनकाई माई मेलाबाट तीनवटा मोटरसाइकल चोरी भएको छ ।

पार्किङ गरेको ठाउँबाट ती मोटरसाइकल हराएका हुन् । हिजो दिउँसो २ः३० बजेतिर कनकाई ४ कोटिहोम क्षेत्रमा एकै स्थानमा पार्किङमा राखेको अवस्थामा दुईवटा मोटरसाइकल हराएको हो ।
झापा गाउँपालिका-५ बस्ने मोहम्मद जेब्राइल शेखको प्रदेश १–०१–०१७ प ५२४७ नम्बरको निलो रंगको १५० सिसिको पल्सर र सोही ठाउँ बस्ने जफर अलीको प्रदेश १–०१–०१७ प २४९८ नम्बरको रातो रंगको १५० सिसिको अर्को पल्सर मोटरसाइकल हराएको हो ।
त्यस्तै, हिजो बिहान ७ः३० बजे कनकाई-४ कोटिहम मन्दिरमा पार्किङ गरी राखेको बुद्धशान्ति १ बस्ने ३६ वर्षीय युवराज खडकाको प्रदेश १–००१३ प ५६९० नम्बरको रातो कालो रंगको १५० सिसिको पल्सर मोटरसाइकल हराएको छ । हराएका मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मेला भर्ने क्रममा अन्य धेरैजनाको नगद, गरगहना र मोबाइल चोरी भएको छ । कनकाई नगरपालिका-१ निवासी कैलाश दर्जीकी श्रीमती मुना दर्जीको हाते ब्यागसहित २ तोलाको सिक्री, बच्चाको ब्रासलेट र पाउजु चोरी भएको छ ।
त्यस्तै, कनकाई-३ निवासी झलका विश्वकर्माको महत्वपूर्ण कागजातसहितको सानो ब्याग हराएको प्रहरीले जनाएको छ ।


