बिर्तामोड, माघ ३ । झापाको कमल गाउँपालिका–५ स्थित सीतापुरी उत्तरमा रहेको किरातहरुको साकेला थानमा प्रतीकात्मक सुप्तुलुङ, माङ्पा सामा र बुम्छुतका छुट्टाछुट्टै प्रतिमा अनावरण गरिएको छ ।

प्रतिमाहरुको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले औपचारिक कार्यक्रमका बीच अनावरण गरेका छन् । अनारणसँगै प्रतिमाहरु किरात राई यायोक्खा झापा जिल्ला समितिलाई हस्तान्तरण समेत गरिएको छ ।
प्रतिमाहरु किरात राई यायोक्खा कमल गाउँ समितिले स्वदेश तथा विदेशमा रहेका किरातसम्बद्ध सहयोग दाताहरुको रकमबाट निर्माण गरेको हो ।
कार्यक्रममा सो सम्पदाहरु यायोक्खा कमलको तर्फबाट प्रतिमा निर्माण समितिका संयोजक भीमराज राईले यायोक्खा झापाका अध्यक्ष गणेश राईलाई हस्तान्तरण गरे ।
बनाएका सम्पदा संरचनाहरुको आवश्यक रेखदेख र सदुपयोग गर्ने राईले प्रतिबद्धता व्यक्त गरे । संरचनाहरु ८ लाख ६४ हजार रुपैयाँ बराबरको रकम खर्च गरी निर्माण सम्पन्न भएको यायोक्खा कमल गाउँ समिति सदस्य राईले जानकारी गराए ।
प्रथम किरात राजा यलम्बरले सुरु गरेको येले सम्वत ५०८६ नयाँ वर्ष तथा माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदानसहित गरिएको सो कार्यक्रममा स्थानीय किरात धर्मप्रेमी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कोशी प्रदेशका पूर्वसांसद अर्जुन राईले पनि शुभकामना मन्तव्य राखेका थिए ।
यायोक्खा कमल गाउँ समिति सदस्य भीमराज राईले प्रतिमा निर्माणका क्रममा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका थिए ।
यायोक्खा कमलका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार संयोजक सन्तोष राई र कार्यक्रम सञ्चालन सदस्य चन्द्रप्रकाश राईले गरेका थिए ।


