२०८२ माघ ३ शनिबार
Jhapa Today
Adv top

सुपर सिक्स क्रिकेटः अन्नपूर्ण क्रिकेट क्लब सेमिफाइनलमा


बिर्तामोड, माघ ३ । झापाको बिर्तामोडमा जारी सुपर सिक्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो दिन एक क्वार्टर फाइनल खेलसहित छवटा खेल सम्पन्न भएको छ ।

डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो खेलमा बोस्टन क्रिकेर्ट केडेमीले सिआर सेभेन वारिएरलाई ४२ रनले हराएको छ । त्यस्तै, दोस्रो खेलमा शिवगञ्ज क्रिकेट क्लबले एब्सुलेट युनाइटेडलाई २२ रनले पराजित गरेको छ ।

त्यस्तै, तेस्रो खेलमा ओसिरिस क्रिकेट क्लबले गोमेन्द्र बिर्ता मोडललाई ७३ रनले हराएको छ । चौथो खेलमा बिहीबारे क्रिकेट क्लबलाई भद्रपुर बल ब्याटर्सले ५ विकेटले स्तब्ध बनाएको छ ।

त्यस्तै, पाँचौँ खेलमा अन्नपूर्ण क्रिकेट क्लबले सुरचिया ११ विराटनगरलाई ३ विकेटले पराजित गरेको छ । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा भद्रपुरलाई अन्नपूर्णले १ विकेटले जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्घाटना बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र झापा टुडेका सम्पादक तथा नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले ब्याटिङ र बल गरेर गरेका थिए ।

भोलि तीनवटा क्वार्टर फाइनल, दुईवटा सेमिफाइनल र फाइनल खेल हुने आयोजक झापा क्रिकेट क्लबका अध्यक्ष माधवकुमार झाले जानकारी दिए ।

प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको क्लबका सचिव सुरज खड्काले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार, ट्रफी र मेडल पाउनेछ ।

त्यस्तै, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट विकेटकिपरले नगद पाँच हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष झाले बताए ।

Adv footer