२०८२ माघ ७ बुधबार
Jhapa Today
Adv top

मलेसियामा सेक्युरिटी गार्डले पाउँदैनन् न्यूनतम तलब


बिर्तामोड, माघ ७ । मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् ।

मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् ।

हाल १ हजार ५ सय रिंगिट तलब र ७ सय रिंगिट ‘ओभरटाइम’ गरी २ हजार २ सय रिंगिट कुल तलब पाउने गरेका छन् । बढेको तलबअनुसार सुरक्षा गार्डले २ हजार ४ सय रिंगिट तलब पाउनुपर्ने हुन्थ्यो । तर, बढेअनुसार तलब पाउन नसकेको उनीहरूले गुनासो गरेका छन् ।

नेपाली दूतावास मलेसियाका अनुसार तलब १७ सय रिंगिट नै पाउने गरेका छन् । सार्वजनिक बिदामा काम गरेको, अफ–ड्युटी लागेको लगायतमा भने केही समस्या देखिएको दूतावासले जनाएको छ । अरू समस्या बिस्तारै हल हुँदै गए पनि ओभरटाइमको विषयमा केही समय लाग्ने दूतावासका एक अधिकारीले बताए ।

महिनाको ३० दिन नै दैनिक १२ घण्टा काम गर्ने सुरक्षा गार्डहरूको हकमा समेत समस्या देखिएको छ । कतिपय कम्पनीले नियम अनुसार नै काम गरिरहेका छन् । तर, केहीले बिदासमेत नदिने, ओभरटाइम समेत नदिने गरेको पाइन्छ ।

मलेसियामा सेक्युरिटी कम्पनीहरू मार्फत सुरक्षा गार्डहरूलाई काममा लगाउने गरिएको छ । हाल १ हजार १२७ वटा सेक्युरिटी कम्पनीमार्फत काममा लगाउने गरिएको छ । हाल मलेसियामा १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् ।

ती कम्पनीबीच नै प्रतिस्पर्धा हुने गरेको छ । सुरक्षा गार्डले महिनाको ३० दिन नै दैनिक १२ घण्टाका दरले काम गर्ने कतिपयले मासिक ३ हजार रिंगिट समेत कमाउने गरेका छन् ।

दूतावासले अहिले मागपत्र प्रमाणीकरण गर्ने बेला नै न्यूनतम तलब, ओभरटाइम तथा बिदा लगायत विषयमा कडाइसाथ कार्यान्वयन गर्दै आएको जनाएको छ ।

विगतमा काम नलगाइ २-३ महिनासम्म समेत त्यत्तिकै राखिदिने गरिएको थियो । तर, अहिले त्यो समस्या ९९ प्रतिशत समाधान भइसकेको दूतावासका ती अधिकारीको दाबी छ । -अनलाइनखबरबाट साभार

Adv footer