
बिर्तामोड, माघ ७ । नेपाली फुटबलको इतिहासमा झापाको दबदबा सधैँ रहँदै आएको छ । काठमाडौँको सानो घेराभित्र सीमित रहेको नेपाली फुटबलमा झापाको वर्चश्व कायम राख्न ३० जनाभन्दा बढी झापाली खेलाडीले राष्ट्रिय टिममार्फत योगदान दिइसकेका छन् । शीर्ष डिभिजनमा त पछिल्लो दशकयता झापाकै बाहुल्यता छ ।
बिर्तामोडका रामदर्शन गुरुङ हुन् वा उदीयमान खेलाडी रोहण कार्की, नेपाली फुटबलमा उनीहरुको समर्पण लोभलाग्दो छ । झापालीको गौरवमय उपस्थिति देखाउन उनीहरुले सदैव कडा मेहनत र लगनशीलतालाई डग्मगाउन दिएनन् ।
कुनै बेला नेपाली फुटबलका पर्यायझैँ रहेका हरि खड्काको रेकर्ड आजको मितिसम्म तोडिएको छैन । राष्ट्रिय टिमका सफल कप्तान भद्रपुरका खड्का मेची रंगशालाका वैभवशाली उत्पादन हुन् । उनको १४ अन्तर्राष्ट्रिय गोलको रेकर्ड अन्य खेलाडीले भेटाउन सकेका छैनन् ।
मेचीनगरका नरुत्तम गौतम, अर्जुनधाराका दिपेन्द्र ढकाललगायत सन्देश श्रेष्ठ, किरण राई, पर्वत पाण्डे, रञ्जीत श्रेष्ठ, रुपक श्रेष्ठ, अनिल सुब्बा, आकाश नेम्वाङ नेपाल राष्ट्रिय टिमका दर्बिला सदस्य थिए । झापाको प्रतिनिधित्व गर्दै टिमबाट खेलेका उनीहरुले आआफ्नो समयमा शीर्ष क्लबहरुमा पनि आफ्नो पकड दह्रो बनाएका थिए ।
पछिल्लो समय विशाल राई ए, कर्ण लिम्बू, योगेश गुरुङ, विशाल राई बि, अनन्त तामाङ, सञ्जोक राई, निशान्त खड्का, देवेन्द्र तामाङ, पुजन उपरकोटी लगायतले राष्ट्रिय टिममा गतिलो उपस्थिति जनाएका थिए । विशाल, अनन्त र सञ्जोकको नाममा त अन्तर्राष्ट्रिय गोलको योगदान पनि रहेको छ । अनन्त अहिले पनि टोलीको सदस्य छन् । यसअघि युगलकिशोर राई र प्रवेश कटवालको प्रदर्शन पनि स्मरणीय मानिन्छ ।
त्यस्तै, बिर्तामोडका अभिषेक बराल, हिसुब थपलिया र उत्सव राई एकै समयमा राष्ट्रिय टिममा समेटिएका थिए । रोहण कार्की, विशाल बस्नेत र सञ्जीत राईलाई २०८० को फागुनमा राष्ट्रिय टिममा राखिएको थियो । उनीहरुले त्यो बेला मलेसियाविरुद्ध मैत्रीपूर्ण र बहराइनमा फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणको खेल खेलेका थिए । रेजिन सुब्बा राष्ट्रिय टिमबाट खेल्ने अहिलेसम्मका अन्तिम खेलाडी हुन् । उनले मलेसियाविरुद्ध खेलेका थिए ।
राष्ट्रिय टिमको सदस्यबाहेक ५० जनाको हाराहारीमा झापाली खेलाडीहरुले शीर्ष डिभिजन, बि र सि डिभिजन क्लबबाट फुटबल खेलिसकेका छन् । त्यति नै संख्यामा अहिले पनि झापाका खेलाडीहरु क्लब र नेपाल सुपर लिग खेल्दै आएका छन् । एन्फा कप च्याम्पियन भएपछि उदाएको झापा ११ फुटबल क्लबले पनि झापाली खेलाडी उत्पादन र प्रबद्र्धनमा भूमिका खेलेको छ ।


