बिर्तामोड, माघ ११ । पछिल्लो समय नेपालबाट ‘डग च्यू’ अर्थात् प्रशोधित छुर्पीको निर्यात घटेको छ । वार्षिक रूपमा ४ अर्बभन्दा बढीको निर्यात हुने छुर्पी पछिल्लो ६ महिनामा घटेको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांक हेर्दा नेपालबाट कूल १ अर्ब ३५ करोड ६६ लाख रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्षको पाँच महिनामा यस्तो छुर्पी १ अर्ब ४५ करोड १५ लाख ३१ हजार रूपैयाँको निर्यात भएको थियो ।
गत आवको तुलनामा छुर्पी निर्यात करिब १० करोडभन्दा बढीले घटेको देखिन्छ । वार्षिक रूपमा निरन्तर बढ्दै गइरहेको छुर्पीको निर्यात चालु आर्थिक वर्षमा केही सुस्त देखिएको हो ।
चालु आर्थिक वर्षको पुस महिनासम्म आइपुग्दा १ अर्ब ८७ करोड ५८ लाख ६८ हजार रूपैयाँ बराबरको यस्तो छुर्पी निर्यात भएको छ । जुन गत वर्षको तुलनामा ७ करोडले बढेको छ । यस वर्षमा छुर्पी निर्यातको वृद्धिदर निकै न्युन रहेको छ ।
६ वर्षअघि नेपालले वार्षिक १ अर्ब ५ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात गर्दथ्यो भने पछिल्ला वर्षमा वार्षिक साढे ४ अर्ब बढीको निर्यात गर्दै आइरहेको छ । हरेक वर्ष नेपालबाट छुर्पी निर्यात बढ्दै गइरहेको देखिन्छ । तर, चालु आर्थिक वर्षमा यसको वृद्धिदर घट्दै गइरहेको छ ।
पछिल्लो समय भारत लगायत अन्य मुलुकमा पनि छुर्पीको उत्पादन भइरहेकाले अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धी बनिरहेको हिमालयन डग च्यूको माओ कम्पनी मनराम ग्रुपका फाउन्डर राजेन्द्र श्रेष्ठ बताउँछन् । नेपालबाट मनराम ग्रुप अन्तर्गतको ‘हिमालयन डग च्यू’ले अमेरिकामा छुर्पी निर्यात गर्दै आइएको छ । अफ सिजन भएकाले पनि छुर्पी निर्यातमा केही कमी आएको जस्तो देखिएको उनको भनाइ छ ।
‘पछिल्लो समय भारत लगायतका राष्ट्रहरूले पनि डग च्यू उत्पादन गरिरहेका छन् । यसले बजारलाई प्रतिस्पर्धी बनाइरहेको छ । पछिल्लो समय केही मात्रामा निर्यात घटेको जस्तो पनि देखिएको छ’, उनले भने, ‘पहिलो यो अफ सिजन हो । अर्को कारण भनेको अन्य प्रतिस्पर्धी बनिसकेका छन् । बजारमा माग र नयाँ नयाँ प्रोडक्ट आइरहेका छन् । जुन हाम्रो देशका लागि चुनौती बन्न सक्छ ।’
डग च्यू पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन हुने छुर्पीको प्रकार हो । विदेशी मुलुकमा यसको प्रयोग कुकुर तथा बिरालोको आहाराका रूपमा हुने गर्दछ । अहिले नेपालबाट निर्यात हुने वस्तुमा सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाइरहेको छ । छुर्पी उत्पादन गर्नेहरू पनि निकै राम्रो व्यापार बढेको बताउँदै आएका छन् ।
नेपालले अमेरिका, क्यानडा, यूके (बेलायत), कोरिया, ताइवान, हङकङ, जापान, ग्रिस, नेदरल्याण्ड्स, मलेसिया, सिंगापुर, दुबई, थाइल्याण्ड, फिलिपिन्स, चिन, फ्रान्स, कतार र इटालीमा गरी १७ राष्ट्रमा डग च्यू पठाउने गर्दछ । तर कूल डग च्यू निर्यातको ८० प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ । त्यसबाहेकका युरोपियन राष्ट्रमा नेपाली छुर्पीको माग बढाउन सकिएको छैन ।
नेपालसँग युरोपियन राष्ट्रमा डग च्यू पठाउनका लागि आवश्यक स्टयान्डर्ड मापनको संयन्त्र नभएको उनको भनाइ छ । यसका साथै सरकारबाट पनि कुनै प्रकारको सहुलियत नपाएको व्यवसायीको गुनासो छ ।
भारतले नयाँ नयाँ छुर्पीकै उत्पादन निकाल्दै गर्दा नेपालको सानो बजार पनि खुम्चिने डर रहेको श्रेष्ठले बताए । नेपालमा छुर्पी व्यवसाय राष्ट्रिय स्तरमा पहिचान नभएको र किसानलाई पनि व्यवसायका लागि प्रोत्साहन नभएको उनको भनाइ छ ।
यस्तो छ नेपालको निर्यात अवस्था
आर्थिक वर्ष २०७५/७६ मा नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रूपैयाँ बराबरको छुर्पी विदेशमा पठाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रूपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा नेपालले एक वर्षमा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रूपैयाँ बराबरको छुर्पी विदेशमा निर्यात गरेको थियो । आर्थिक वर्ष २०७८र७९ मा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रूपैयाँको छुर्पी निर्यात गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रूपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ केजी छुर्पी निर्यात गरेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रूपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी छुर्पी विदेशी मुलुकमा निर्यात गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रूपैयाँ बराबरको छुर्पी निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा मात्रै नेपालले ४ अर्ब ५१ करोड ४० लाख ९७ हजार रूपैयाँको छुर्पी निर्यात गरेको थियो ।
कसरी पठाइन्छ नेपालबाट विदेशमा छुर्पी
नेपालमा उत्पादन हुने छुर्पीको प्रशोधन तथा ल्याब टेस्ट गरेर मात्रै विदेशी मुलुकमा पठाइने गरिन्छ । छुर्पी उत्पादन गर्ने किसानबाट छुर्पीको संकलन गरेर प्रशोधन गर्ने गरिन्छ ।
प्रशोधित छुर्पीलाई सिधै विदेशमा पठाउन भने मिल्दैन । त्यसका लागि ल्याब परीक्षण गरेर पशु सेवा विभाग अन्तर्गतको क्वारेन्टाइन महाशाखामा अनुमतिका लागि निवेदन पेस गर्नुपर्ने हुन्छ ।
महाशाखाले कुन देशमा कति छुर्पी पठाउनेरु ल्याब टेस्ट गरिएको छ कि छैन रु कसरी पठाउने रु कति बक्समा पठाउने रु कति मूल्यमा पठाउने रु लगायतका सम्पूर्ण कागजातसहितको निवेदन माग गर्दछ ।
उक्त निवेदनलाई हेरी महाशाखाले अनुमति दिएपछि मात्रै छुर्पी बाहिर पठाउन सकिन्छ ।
छुर्पीको मोटाइ, कटिङ तथा पूर्ण रूपमा सुकेको छ कि छैन रु भन्नेजस्ता कुरा हेरेर बाहिर पठाउनका लागि तयार गरिने अधिकारीहरू बताउँछन् ।- लोकान्तरबाट



