बिर्तामोड, माघ १२ । झापाका तीन युवा नेताले अवैध रुपमा भइरहेको चुरे दोहन हुन नदिने जिकिर गरेका छन् । उनीहरुले आफूहरु गुन्डा नभएको पनि बताएका छन् ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर उनीहरु सो कुरा बताएका हुन् । नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज राज आङदम्वे, नेपाली कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल खेलकुद महासंघका झापा अध्यक्ष सुरेश आले र कांग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेतीले सो कुरा बताएका हुन् ।
निर्माणाधीन एसियन हाइवेको ठेक्का लिएको निर्माण कम्पनीका मजदुरमाथि हातपात गरी गाडी कब्जा गरेको र गुन्डागर्दी गरेको भन्ने आरोप सरासर गलत भएको स्पष्ट पारेका छन् ।
एभ्रास्कन र कालिका जेभीका तर्फबाट मेनेजर उज्ज्वल प्रसाईंले सार्वजनिक गरेको विज्ञप्ति र त्यसका आधारमा प्रकाशित समाचारहरुमा आफूहरुलाई लक्षित गरी चरित्र हत्या गर्ने, सामाजिक मान प्रतिष्ठामा आँच पु¥याउने कार्य गरेको भन्दै उनीहरुले त्यसको घोर निन्दासमेत गरेका छन् ।
एसियन हाइवे निर्माणको क्रममा निर्माण कम्पनी एभ्रास्कन कालिका जोइन्ट भेन्चरले प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार नगरी अवैध तरिकाले चुरे जस्तो संवेदनशील क्षेत्रको दोहन गर्ने मनसायले मदन भण्डारी राजमार्गलाई प्रत्यक्ष असर पार्ने, स्थानीय जनताको दैनिकी समेतलाई असर गर्नेगरी माटो उत्खनन् गरेर पुरुवा ल्याउने काम गरिरहेकोले सोधपुछ गर्ने काम भएको स्वीकारेका छन् ।
उनीहरुले राष्ट्रिय गौरवको एसियन हाइवे निर्माणको आफूहरु विरोधी नभएको बताउँदै चुरे क्षेत्र कुनै पनि हालतमा उत्खनन् गर्न नदिने चेतावनी दिएका छन् ।
कुनै पनि सम्बन्धित निकायबाट अनुमति नलिई, अनाधिकृत रुपमा उत्खनन् गरी हाइवेमा पुरुवा हाल्ने काम भइरहेको दाबी गर्दै स्थानीय प्रभावित नागरिकहरुले स्थानीय प्रशासनलाई जानकारी गराएपछि प्रहरीले नै पुरुवा ओसार्ने साधनलाई नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ ।
सामाजिक क्षेत्रमा क्रियाशील आफूहरुलाई बद्नाम गर्न प्रेषित विज्ञप्तिको खण्डन गर्दै उनीहरुले निर्माण कम्पनीका मेनेजर प्रसाईंलाई कारबाहीको मागसमेत गरेका छन् ।
सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कम्पनीले हिजोदेखि पूर्व–पश्चिम एसियन हाइवे विस्तारको काम रोकेको छ ।
प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र नियन्त्रणमा लिइएका आफ्ना सवारी साधन छोड्नुपर्ने अडानमा निर्माण कम्पनी रहेको छ ।
माघ १० गते ४ वटा , माघ ९ गते एउटा र पुस २३ गते दुईवटा टिप्पर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
नियन्त्रणमा लिइएका ७ वटा टिप्परमध्ये पाँचवटा अर्जुनधारा नगरपालिका कार्यालय र दुईवटा सब डिभिजन कार्यालय सुरुङ्गामा राखिएको छ ।



