बिर्तामोड, माघ १२ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा बजारमा माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघले मूल्य बढाएपछि बजारमा कालोबजारी बढ्न सक्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन टोली खटाएको छ ।

एक साताअघि मात्रै मूल्य घटाएको संघले निर्वाचनको माहोलसँगै माग उच्च भएको भन्दै आइतबारदेखि लागु हुनेगरी मूल्य बढाएको छ । नयाँ मूल्यसूचीअनुसार ठुलो अण्डाको फार्म मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढेर ४९५ रुपैयाँ पुगेको छ । यसअघि ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।
त्यस्तै, मझौला अण्डाको फार्म मूल्य पनि बढेर ४७५ रुपैयाँ कायम भएको छ । यसअघि मझौला अण्डा ४४५ रुपैयाँमा बिक्री भइरहेको थियो ।
संघका अनुसार देशमा निर्वाचनको माहोल बन्नु र जाडो मौसम सुरु हुनुले अण्डाको खपत बढेको छ । साथै, निर्वाचनका कारण सीमा क्षेत्रमा गरिएको कडाइले भारतीय अण्डाको आयात रोकिँदा र जाडो विदापछि विद्यालयहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा माग बढेको जनाएको छ । अर्कोतर्फ कुखुराको संख्यामा कमी आउँदा उत्पादन नै घटेकाले मूल्यमा चाप परेको व्यवसायीको भनाइ छ ।
संघका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार एक क्रेट अण्डाको लागत ५७४ रुपैयाँ पर्न आउँछ । मूल्य वृद्धिपछि किसानलाई केही राहत पुगेको बताइएको छ । गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च (ठुलो ५६५ र मझौला ५५० रुपैयाँ) पुगेको थियो ।



