
बिर्तामोड, माघ १३ । यस वर्षको हिउँद पनि अघिल्ला वर्षहरुजस्तै बढी न्यानो र बढी सुक्खा भएको छ । लगातारका हिउँदमा देखिएको खडेरीले पानीको स्रोत र कृषि उत्पादन घटाउने तथा प्रदूषण र डढेलोको प्रकोप बढाउने विज्ञहरु बताउँछन् । यसबाट समग्र खाद्य चक्र नै बदलिने चिन्ता छ ।
हिउँदयाम भनेर (डिसेम्बर, जनवरी र फेब्रुअरी अर्थात् १५ मंसिरदेखि १५ फागुनसम्म) को अवधिलाई बुझिन्छ । मौसमविद डा. विनोद पोखरेलका अनुसार सन् २०२१, २०२४ र २०२५ का हिउँद सुक्खा भएका छन् । सन् २०२३ को हिउँद पनि सुक्खा नै थियो तर अरु वर्षभन्दा तुलनात्मक रुपमा कम थियो ।
यस वर्षको २१ जनवरीसम्म जम्मा ५.३ मिलिमिटर मात्रै पानी परेको छ । यो सरदरको ९ प्रतिशत मात्रै हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँद अवधिमा नेपालमा सरदर ६० मिलिमिटर पानी पर्ने गर्दछ ।
अघिल्लो वर्ष (सन् २०२४) को हिउँद ३० वर्षयताकै कम पानी परेको हिउँदका रुपमा दर्ज छ । यस वर्ष (सन् २०२५) को हिउँद पनि सुक्खा नै भएको छ । अधिकांश स्थानमा सामान्यभन्दा ६० प्रतिशत बढी सुक्खा देखिएको विज्ञहरु बताउँछन् ।
जलवाष्पयुक्त पश्चिमी वायु र न्यून चापीय प्रणालीले पानी पार्ने हो । तर, अहिलेसम्म हिउँदमा तीनपटक मात्र यस्तो प्रणाली नेपाल भित्रिएको छ । त्यो पनि एकदमै कमजोर भएकाले पश्चिम पहाडी भूभागमा मात्र सीमित रह्यो ।
कम पानी पर्दा पनि जाडो कम र सुक्खा भएको मौसमविदहरु बताउँछन् । हिउँदपछिका महिनाहरुमा चर्को गर्मी हुने र त्यसले माटोको ओस गायब हुने हुँदा अझ ठुलो संकट ल्याउने विज्ञहरुको चिन्ता छ ।
विभागका अनुसार यस वर्ष (सन् २०२५) को अहिलेसम्मको अवस्था हेर्दा करिब एक हप्तामात्र तापक्रम सामान्यभन्दा कम छ । अरु सबै दिन अधिकतम र न्यूनतम दुवै तापक्रम बढी छ ।



