२०८२ माघ १३ मंगलबार
Jhapa Today
Adv top

दमकमा सुनका गरगहना चोर्ने चारजना पक्राउ


बिर्तामोड, माघ १३ । दमकमा चोरीका सामान र लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी-२ घर भई हाल दमक-८ बस्ने प्रकाश घतानी, दमक-७ बस्ने कमलबहादुर रञ्जीतकार, नरबहादुर रञ्जीतकार र सन्ध्या हिङमाङ रहेका छन् ।

गत माघ ७ गते अन्दाजी दिउँसो दमक ५ चाँदनी टोल बस्ने कमला चम्लागाईंको घरबाट अपरिचित व्यक्तिहरूले १ तोलाको सुनको चुरा, ६ आनाको सुनको नौगेडी, ६ आनाको तिलहरी, ५ आनाको सुनको औँठी र आधा तोलाको सुनको औँठी, १० आनाको सुनको कानमा लगाउने झुम्का र नगद २५ हजार चोरी गरेका थिए ।

सिसिटिभी टिभी फुटेजलगायतको माध्यमबाट घटनाको अनुसन्धान गर्ने क्रममा घतानी र कमलबहादुरले चोरी गरेको देखिएको थियो ।

घतानी र कमलबहादुरलाई खोजतलास गर्ने क्रममा माघ १० गते दिउँसो ४ बजे दमक ८ बाट फेला पारी पक्राउ गरिएको थियो । उनीहरूलाई प्रारम्भिक सोधपुछ गर्दा उक्त चोरीका केही सुनका गरगहनाहरूमध्ये १ जोर कानमा लगाउने सुनको झुम्का, १ थान सुनको चुरा, १ थान औँठी र १ थान नौगडीको दाना र सानो टुक्रा १ थान घतानीले आफू बस्ने कोठामा लुकाएर राखेको बताएका थिए ।

त्यसपछि उक्त घर कोठा खानतलासी गरिएको थियो । त्यसक्रममा सुनका केही गरगहनाहरू बरामद गरी नौ गेडीको २ वटा दाना कमलबहादुरले आफ्नै बुबा वर्ष ५५ का नरबहादुरलाई राख्न दिएको समेत बताएका थिए ।

नरबहादुरलाई माघ १० गते राति ८ बजे दमक १ बाट पक्राउ गरी उनको शरीर तथा घर कोठा खानतलासी गर्दा उनले लगाएको जिन्स पाइन्टको दायाँ गोजीबाट सुनको नौगेडीको २ वटा दानाहरू फेला परेको थियो ।

त्यसपछि कमलबहादुरको घर कोठा खानतलासी गर्ने क्रममा कमलबहादुरकी श्रीमती सन्ध्या हिङमाङले उनीहरू बस्ने घरको झ्यालबाट केही शङ्कास्पद वस्तु झ्यालबाट फालेकी थिइन् । शंका लागेर उक्त वस्तु फालेको स्थानमा हेर्दा सेतो बट्टाभित्र प्लास्टिकबाहेक १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

Adv footer