२०८२ माघ १४ बुधबार
Jhapa Today
Adv top

कोशी पाथिभरा इन्डो–नेपाल क्रिकेटको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल


बिर्तामोड, माघ १४ । झापाको भद्रपुरमा हुने प्रथम संस्करणको कोशी पाथिभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिपको मुख्य प्रायोजकमा सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएका छन् ।

च्याम्पियनसिपको आयोजक भद्रपुर क्रिकेट क्लब र मुख्य प्रायोजकका रुपमा सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगिताको टाइटल स्पोन्सर भने एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने एक लाख एक हजार रुपैयाँ स्वर्गीय मनोज रिमालको स्मृतिमा परिवारले नगद उपलब्ध गराउने भएको क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक मनोज सुब्बाले जानकारी दिए ।

सौर्य एअरलाइन्स तथा हस्पिटलका अध्यक्ष पोखरेलले आफ्नो ठाउँमा भएको प्रतियोगिताका लागि पहिलो प्राथमिकता स्थानीयले सहयोग गर्नुपर्ने आफ्नो मान्यता रहेकाले मुख्य प्रायोजन गरेको जानकारी दिए ।

प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म मेची क्रिकेट ग्राउन्डमा हुनेछ । सुब्बाका अनुसार प्रतियोगितामा भारतका चार र नेपालका चारवटा टिमको सहभागिता रहनेछ ।

भारतका राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनाऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

त्यस्तै, नेपालका आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा आठवटा टिमलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ । केही दिनमै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका सचिव केदार महतले बताए ।

उदयीमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिता सम्पन्न एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बेला भारतीय तथा नेपाली खेलाडी तथा अफिसियहरुलाई पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइने बताइएको छ ।

Adv footer