बिर्तामोड, माघ १७ । झापामा लागुऔषधसहित एकैदिन चारजना पक्राउ परेका छन् । प्रहरीले अर्जुनधारा, बिर्तामोड र मेचीनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

हिजो बिहान ११ः३० बजे अर्जुनधारा ११ बसपार्कस्थित कृष्ण भट्टराईको घरमा डेरा गरी बस्ने अनिश राईको कोठामा लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पाँचथर याङवरक-६ बस्ने वर्ष २५ का राई र धरान-१७ बस्ने वर्ष १९ की लिला तामाङ बसेको कोठाबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर र प्रतिबन्धित औषधि नाइट्रोसन ९ वटा ट्याब्लेट बरामद भएको थियो ।
त्यस्तै, हिजो दिउँसो ४ बजे बिर्तामोड-४ कालिकानगर बस्ने ४६ वर्षीय फणिन्द्र विश्वकर्माको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ ग्राम १२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागुऔषधसहित विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, हिजो साँझ ५ बजे लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका कमल-३ केर्खा बस्ने ३७ वर्षीय राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । उनले अन्डरवेयरभित्र सो लागुऔषध लुकाएर ल्याएका थिए ।



