२०८२ माघ १८ आइतबार
Jhapa Today
Adv top

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्


बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज बिहानदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको हो । यद्यपि पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको हो । निगमले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार आइओसीबाट पेट्रोलको खरिद मूल्य प्रतिलिटर १२ पैसाले, डिजेलको ४ रुपैयाँ ६६ पैसाले र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले बढेर आएको छ ।

खरिद मूल्य बढे पनि उपभोक्तामाथि थप बोझ नपरोस् भन्ने उद्देश्यले निगमले पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य यथावत् राखेको जनाएको छ । तर, डिजेल र मट्टीतेलमा भने आंशिक मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।

यसैबीच, हवाई इन्धनको मूल्यमा भने कमी गरिएको छ । निगमका अनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव भइरहेकाले त्यसको प्रभाव पेट्रोलियम पदार्थको खरिद मूल्यमा देखिएको हो । निगमले घाटा न्यूनिकरण र आपूर्ति सहज बनाउने उद्देश्यले समय–समयमा मूल्य समायोजन गर्दै आएको जनाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य वृद्धि भएपछि यातायात, निर्माण तथा कृषि क्षेत्रको लागतमा केही असर पर्ने अनुमान गरिएको छ ।

Adv footer