बिर्तामोड, माघ १८ । प्रहरीले झापाको भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।
हिजो दिउँसो १ बजे भद्रपुर–४ डाँगीबारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–४ करेला चोक बस्ने ४८ वर्षीय भवानी लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
शंका लागेर जाँच गर्ने क्रममा साइकल चालक लिम्बूले मलद्वाराभित्र प्लास्टिकको पोका पारेर ४ ग्राम ८१० मिलिग्राम ब्राउनसुगर लुकाएका थिए ।
त्यस्तै, हिजो दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर–६ साठीबिघामा भारतको पानीट्यांकी हाँडीगाउँबाट मेची खोलाको बाटो हुँदै आउँदै गरेका बुद्धशान्ति ३ राधा टोल बस्ने २६ वर्षीय कविन्द्र बस्नेत र सोही ठाउँ बस्ने २५ वर्षीय श्याम धिमाललाई पक्राउ गरेको हो ।
खानतलासी लिने क्रममा बस्नेतले लगाएको जिन्स पाइन्टको गोजीमा ६ ग्राम ६५० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।



