२०८२ माघ २० मंगलबार
Jhapa Today
Adv top

बिर्ताबजार-चम्पापुर सडकको बिर्तामोड क्षेत्रमा कालोपत्र सम्पन्न


बिर्तामोड, माघ २० । झापाको बिर्तामोडस्थित बिर्ताबजारदेखि कनकाई नगरपालिकाको घैलाडुब्बा जोड्ने गोकुल जोशी मार्गको बिर्तामोड खण्ड कालोपत्रे भएको छ ।

बिर्ताबजार–चम्पापुर करिब ८ किलोमिटर लम्बाईको गोकुल जोशी मार्गअन्तर्गत बिर्तामोड नगरपालिका खण्डमा कालोपत्रे गर्ने कार्य लगभग सकिएको हो ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ को बिर्ताबजार र वडा नम्बर २ को लालमाटी हुँदै घाग्रा खोला तथा कनकाई नगरपालिका वडा नम्बर ९ को घैलाडुब्बा हुँदै बिरिङ खोला पारी कनकाई ५ को चम्पापुर जोड्ने साँघुरो कच्ची बाटो फराकिलो कालोपत्रे सडकमा रुपान्तरण गरिँदै लगेको हो ।

बिर्तामोड-२ को दाहाल गाउँनजिकै करिब १०० मिटरबाहेक बिर्ताबजार–घाग्रासम्मको सडक खण्ड बितेको वर्ष कालोपत्रे गरिएको वडा अध्यक्ष किशोर पौडेलले बताए ।

गरामनीबाट पैदल यात्रा गर्दै आदर्श विद्या मन्दिर मावि घैलाडुब्बामा आवतजावत गर्दा भोगेको कष्टलाई अन्त्य गर्न शिक्षक गोकुल जोशीले उक्त बाटोको परिकल्पना गरेका थिए ।

साहित्यकारसमेत रहेका शिक्षक जोशीले बाटोको परिकल्पना गर्दै सो क्षेत्रका बासिन्दासँग समन्वय गरी पहिलो फरुवा चलाभएको सम्मानमा उनकै नाममा सडकको नामकरण पनि गरिएको वडा अध्यक्ष पौडेलको भनाइ छ ।

तत्कालीन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, कोशी प्रदेश सरकारका तत्कालीन खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र बिर्तामोड नगरपालिकाको पहल र प्रयासमा सडक विभाग पूर्वाधार कार्यालय लगायतबाट १० करोड रुपैयाँभन्दा बढीको लगानीमा बिर्तामोड खण्डको सडक कालोपत्रे सम्पन्न भएको हो ।

गोकुल जोशी मार्गको बिर्तामोड–कनकाई नगरपालिका सिमाना घाग्रादेखि घैलाडुब्बा बजार हुँदै बिरिङसम्म पुग्ने सडकको विभिन्न स्थानमा बक्स कल्भर्ट निर्माण गरिँदैछ भने बिरिङ नदीमा पक्की पुलको लागि निर्माण कार्य सुरु गरिएको छ ।

प्रतिनिधिसभा सदस्यको गत चुनावमा प्रतिबद्धता गरेअनुसार नै क्षेत्र नम्बर २ का सांसद तथा सभामुख घिमिरेको सक्रियतामा बजेट विनियोजन गरी बिरिङ नदीमा पक्की पुलको ठेक्का लागेर निर्माण कार्यसमेत सुरु भइसकेको पाइएको छ ।

२०८२ जेठ ७ गते स्थानीय पूर्वाधार विकास परियोजना इटहरीले भ्याटसहित ३० करोड १० लाख ३७ हजार ६०० रुपैयाँ लागतमा घैलाडुब्बा चम्पापुर जोड्ने बिरिङ खोलामा पक्की पुल निर्माण गर्न नारायनम शारदा कृष्णलीला जेभी नेपालगञ्जसँग सम्झौता गरी काम अगाडि बढाइएको हो ।

Adv footer