२०८२ माघ २१ बुधबार
Jhapa Today
Adv top

बिर्तामोडमा होटल व्यवसाय गरेका जेलबाट फरार राई पुनः लागुऔषधसहित पक्राउ


बिर्तामोड, माघ २१ । आठ वर्षअघि झापाको बिर्तामोडमा होटल व्यवसाय गर्ने पाँचथरको फालेलुङ गाउँपालिका–६ का जंगबहादुर राई लागुऔषध ब्राउन सुगरसहित पुनः पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको जवान पदमा ११ वर्ष जागिर खाएर राजिनामा दिएका राईको लागुऔषध बेचबिखन तथा ओसारपसारमा संलग्न हुँदै आएका थिए । उनी जेन्जीको नाममा भएको आगजनीको क्रममा सुनधारा कारागारबाट भागेका थिए ।

राईले २०७२ मा सशस्त्र प्रहरीको जागिर छाडेका थिए । प्रहरीका अनुसार त्यसपछि केही समय झापाको बिर्तामोडमा होटल व्यवसाय गरे । साथीले सिकेको कुलतलाई राईले पनि पछ्याए । उनले लागुऔषध खैरो हेरोइन सेवन गर्न सिके ।

त्यतिबेलादेखि नै उनी साथीसँगै भारतको पानीट्यांकी बजारमा गएर प्रतिग्राम हेरोइनको १२ सय रूपैयाँमा खरिद गरेर बिर्तामोड ल्याउँथे र दुव्र्यसनीलाई बिक्री गर्थे । २०७४ फागुन ३० गते बेलुका इलाका प्रहरी कार्यालय अनारमनीले केही दुव्र्यसनीलाई थोरै परिमाणको हेरोइनसहित पक्राउ ग¥यो । उनीहरूले राईको नाम पोले । प्रहरीले राईको कोठामै पुगेर नियन्त्रणमा लियो । अदालतले २०७६ असार १९ मा राईसहितलाई पाँच वर्ष कैद र २५ हजार जरिवाना सुनायो ।

राई सजाय काटेर जेलबाट छुटे । तर, उनको लागुऔषध बिक्री वितरणको धन्दा रोकिएन । बरु तस्करीको परिमाण बढ्यो । २०८० भदौ १७ मा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले राईलाई पक्राउ ग¥यो । त्यतिबेला उनीसहित पाँच जनाबाट ९ लाख ५० हजार रूपैयाँ र १४२ ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

काठमाडौँ महानगरपालिका–१४ का स्थानीय निराजन खड्काको घरबाट राई समातिए । तत्कालीन समयमा अदालतको बयानमा समेत राईले बिसु भन्ने कल्याण बर्मनले दिएको लागुऔषध हेरोइन झापाबाट काठमाडौँ ल्याएर बिक्री गरेको बताएका थिए ।

हेरोइन बिक्रीबापतको रकम ९ लाख ५० हजार र बिक्री गर्न बाँकी १४२ ग्राम हेरोइन कोठामै राखेका बेला प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको थियो । कल्याणलाई रञ्जीत बर्मनले चिनाइदिएका थिए । राईले रञ्जीतलाई झापा कारागारमा बस्दा नै चिनेका थिए । उनै रञ्जीतको सल्लाहअनुसार राईले एक ग्राम हेरोइनको २१ सयमा खरिद गरेर अन्य कारोबारी एवम दुव्र्यनसीलाई ६ हजार रूपैयाँमा बिक्री गर्दै आएका थिए ।

यो प्रकरणमा ब्युरोको टोलीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो । राईविरुद्ध अदालतले १६ वर्ष दुई महिना कैद र पाँच लाख जरिवाना सुनाएको थियो । अदालतको फैसलापछि राई सुन्धारास्थित केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका थिए ।

यही बीचमा गत भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । २४ गते कारागारबाट सबै कैदीबन्दी भागे । राई पनि सोही मौकामा भागेको प्रहरीले जनाएको छ ।

२० दिन गृह जिल्ला पाँचथर पुगेर लुकीछिपी बसेका राई पक्राउ पर्ने डरले भारतको सिलिगुडीसम्म पुगे । सिलिगुडीमा उनले सुरूमा होटलमा काम गरे । विगतमा पनि सिलिगुडीबाटै लागुऔषध नेपालमा ल्याई बिक्री गरेका राईको मनमा पैसा कमाउने लोभले जरा गाड्यो ।

सिलिगुडीमा भारतीय नागरिक श्याम राजवंशीसँग राईको भेट भयो । राजवंशी खैरो हेरोइनको खुद्रा कारोबारी थिए । राईले उनैसँग प्रतिग्राम एक हजार पाँच सय रूपैयाँ तिरेर ३५० ग्राम खैरो हेरोइन खरिद गरे । बस चढेर काठमाडौँ आए ।

जेलबाट फरार भएका कैदीबन्दीलाई प्रहरीले खोजी गरिरहेको थियो । राई ललितपुर नागदहस्थित कोठामा बसिरहेको सूचना पाएपछि प्रहरी पुग्यो । राईलाई ब्युरोका वरिष्ठ सई बालकृष्ण सञ्जेलको टोलीले गत कात्तिक २८ गते पक्राउ ग¥यो ।

उनले कोठामा लुकाएर राखेको २८० ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने तराजु बरामद ग¥यो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले यही माघ १५ गते राईविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको छ । हाल अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

Adv footer