२०८२ माघ २२ बिहीबार
Jhapa Today
Adv top

हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय फुटबलमा इस्ट होराइजन विजयी


बिर्तामोड, माघ २२ । तेस्रो संस्करणको हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इस्ट होराइजन मावि धुलाबारी विजयी भएको छ ।

आज भएको खेलमा इस्ट होराइजनले आयोजक एभरेस्ट स्मार्ट एकाडेमीलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ४३ औँ मिनेट इस्ट होराइजनले अन गोलमार्फत लिएको अग्रता नै जितका लागि काफी भयो । खेलको प्लेयर अफ द म्याच इस्ट होराइजनका निक्रिस घिसिङ भए ।

एभरेस्ट स्मार्ट एकाडेमी र एभरेस्ट स्पोर्ट्स एकाडेमीको आयोजनामा विद्यालयका संस्थापक हरिकुमार प्रसाईंको स्मृतिमा हरेक वर्ष उक्त प्रतियोगिता हुँदै आएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । विद्यालयका प्रबन्ध निर्देशक आशिष प्रसाईंको अध्यक्षतामा भएको समारोहमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, हरिकुमार पाठक, राम सिटौला, सूर्य कन्दङ्वा, गजेन्द्र पौडेल लगायतले शुभकामना व्यक्त राखेका थिए ।

प्रबन्ध निर्देशक प्रसाईंले आफ्ना स्वर्गीय पिताको शिक्षाप्रतिको सोच र योगदानको चर्चा गर्दै विद्यालयले गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सावित्रा भट्टराईले गरेकी थिइन् ।

प्रतियोगितामा सुनभागा स्कुल, टावर टेम्पल, गोमेन्द्र, बाल बाटिका, चिल्ड्रेन इन्भारोमेन्ट, मेची मोडल, निधि, ग्रिन फिल्ड, ब्रिलियन्ट पिपुल्स, देवकुल, होलीबेल, बेल्स मोडल, कञ्चनजंघा, कञ्चन, सूर्योदय, हरिकुल, वाल्मीकि प्रोभिडेन्स र न्युट्न्स एजुकेसन एकाडेमीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २८ गते हुनेछ ।

यसैबीच, विद्यालय र एभरेस्ट बाल क्लबले दुईजना क्यान्सर प्रभावित बालकलाई सहयोग गरेका छन् । बाह्रदशी निवासी ३ वर्षीय नुतन राजवंशी र भद्रपुर निवासी ६ वर्षीय आरोन धमालालाई जनही ३५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।

Adv footer