बिर्तामोड, माघ २५ । झापाको अर्जुनधारामा बिरिङ खोलामा ट्रयाक्टरले किचेर सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा-३ बस्ने हर्क श्रेठका छोरा १६ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । ट्रयाक्टरबाट खसेका उनलाई पछाडिको चक्काले किचेको थियो ।

आज बिहान ९ः४० बजे अर्जुनधारा-७ स्थित बिरिङ खोलाबाट बालुवा लोड गरेर अगाडि बढाउने क्रममा प्र १–०१–००१ त ९०१० नम्बरको ट्रयाक्टरको डालामा रहेका उनी खसेका थिए । उनलाई उपचारको लागि शंकर अस्पताल शनिश्चरे ल्याएकोमा डाक्टरले जाँच गर्दा मृत्यु भइसकेको थियो ।
प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर ट्रयाक्टर र ट्रयाक्टर चालक अर्जुनधारा-७ बस्ने ४६ वर्षीय पदमबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ । साथै, ट्रयाक्टरका साहु अर्जुनधारा-४ बस्ने ५६ वर्षीय अशोकलाल दनुवारलाई पनि प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




