२०८२ माघ २८ बुधबार
Jhapa Today
Adv top

झापा गोल्डकपमा आज एपिएफ र आरटिसी भुटान खेल्दै


बिर्तामोड, माघ २८ । सातौँ एक्स्ट्रिम झापा गोल्डकपमा आज सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेज (आरटिसी) ले प्रतिस्पर्धा गर्दैछन् ।

डोमालाल राजवंशी रंगशालामा तेस्रो क्वार्टर फाइनल खेलमा आज दिउँसो ३ बजे भुटानी क्लबले नेपालको विभागीय टोलीसँग सेमिफाइनल प्रवेशका लागि खेल्दैछ ।

जारी राष्ट्रिय लिगमा शीर्ष अंकका साथ उत्कृष्ट लयमा रहेको विभागीय क्लब एपिएफ र दक्षिण एसियाली राष्ट्रमा उदियमान भुटानी क्लबको रोमाञ्चक प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

Adv footer