२०८२ फागुन २ शनिबार
Jhapa Today
Adv top

आर्मीमाथि शानदार जित निकाल्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा


बिर्तामोड, फागुन २ । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको छ । मछिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो । मछिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए ।

खेलको २४ औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पायो । जोरिल्लाको फ्रिकिक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । उनै जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफ २–० को बराबरी भएपछि दोस्रो हाफमा आर्मी दबाबमा परेको थियो । मछिन्द्रले खेलको ५२ मिनेटमा अर्काे गोल थपेर खेलमा जित सुनिश्चित गरेको थियो । आर्मीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई प्रदिप बुढाथोकीले डिबक्समा पास मिलाइदिएका थिए । सो बललाई जोरिल्लाले पोष्टको दिशा दिएका थिए ।

खेलको अतिरिक्त समयमा मछिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एक गोल थपे । मैदानको मध्यभागमा पाएको बललाई आर्मीका दुई डिफेन्डरलाई बिट गरेर एकल प्रयासमा उनले गोल गरेका थिए ।

खेलको १७ औँ मिनेटमा सौरभ लिम्बु र अतिरिक्त समयममा अभिषेक स्याङतानले सदुपयोग गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो ।

मछिन्द्रसामु आर्मीको प्रदर्शन फितलो रह्यो । खेलको नवौँ मिनेटमा डिबक्समा रहेका आर्मीका नविन लामाको फ्रिहेडर बारमाथिबाट बाहिरियो । ७० औँ मिनेटमा दिनेश हेन्जनले बक्सभित्र पाएको बल सदुपयोग गर्न सकेनन् ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरि प्लेयर अफ द म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ तथा उनका साथीहरुले प्रदान गर्दै आएका छन् ।

यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

Adv footer