२०८२ फागुन ३ आइतबार
Jhapa Today
Adv top

प्रज्ञा एकेडेमीको वार्षिकोत्सव तथा फुड फेस्टिबल


बिर्तामोड, फागुन ३ । झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमी चन्द्रगढीले ३५ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रज्ञा एकाडेमीले यसपटक दुई दिन कार्यक्रम गरेको हो । पहिलो दिन नर्सरीदेखि कक्षा ५ सम्म र दोस्रो दिन कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा अभिभावकको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विद्यालयमा लामो समयसम्म लेखापालको रुपमा सेवा गरेर अवकाश लिएकी पूर्व कर्मचारी कविता खनाल र सोही विद्यालयमा कार्यरत यमुना क्षेत्रीलाई नगद ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिएको थियो ।

त्यस्तै, सोही विद्यालयबाट २०६३ सालको एसएलसी परीक्षामा झापा प्रथम एवम् सारलेण्ड युनिभर्सिटी जर्मनीबाट विद्यावारिधि प्राप्त गरी रिसर्च वैज्ञानिकको रुपमा कार्यरत डा. प्रतिक भण्डारीलाई नगदसहित सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माया मैनाली पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रज्ञा एकेडेमीका प्रधानाध्यापक इशुभ पाण्डेले विद्यालयको गतिविधि एवम् भावी शैक्षिक कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, प्याब्सन भद्रपुरका अध्यक्ष भक्तबहादुर कार्की, भद्रपुर नगरपालिका शिक्षा शाखाका प्रतिनिधि प्रेमबहादुर भुजेल, प्रज्ञा एकेडेमी अभिभावक संघका सचिव देवीचरण भण्डारी, लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरे, समाजसेवी डिल्लीराम खतिवडा, प्रज्ञा एकेडेमीका संस्थापक सदस्य लीलाराज खतिवडा, पूर्वशिक्षक राजेन्द्र खनाललगायतको उपस्थिति थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरू आफैँले उत्पादन गरेका खाद्य सामग्रीहरू समेत प्रदर्शन गरेका थिए । विद्यालयको शिक्षा प्रमुख शेखर पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षकहरू वसन्त अधिकारी र हेमा प्रधानले गरेका थिए ।

Adv footer