
बिर्तामोड, फागुन४। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको हतियार र ठुलो परिमाणमा गोलीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
लागूऔषध लुकाएको भन्ने विशेष सूचनाका आधारमा झापाको कनकाई नगरपालिका–८ मा गरिएको छापाका क्रममा उक्त हतियार फेला परेको हो।
हिजो दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठ र लागूऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले स्थानीय तुलबहादुर थापा मगरको घरमा खानतलासी गरेको थियो।
सो क्रममा उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडिको कुखुराको खोरमा प्लाष्टिकको ड्रमभित्र लुकाएर राखेको अवस्थामा ९ एमएमको पेस्तोल, एक थान म्याग्जिन र ४० राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा हतियार र गोली भदौ २४ को आन्दोलनका बेला बिर्तामोड प्रहरी कार्यालयबाटै लुटिएको पुष्टि भएको छ। प्रहरीका अनुसार कनकाई–८ निवासी ३२ वर्षीय सूर्य राजवंशीले सो हतियार लुटेर सौगातलाई राख्न दिएका थिए।
घटनामा संलग्न राजवंशी र फरार रहेका मगर दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




