बिर्तामोड, फागुन ८ । झापाको कचनकवल गाउँपालिकामा किराना पसलको सटर फुटाएर चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।
कचनकवल–७ बालुबाडीस्थित बुधकरण राजवंशीको किराना पसलमा सटर फुटाएर नगद र विभिन्न सामग्री चोरी गर्ने उनीहरु पक्राउ परेका हुन् ।
माघ १४ गते भएको चोरीको विषयमा अनुसन्धान गर्ने क्रममा बिहीबार साँझ भद्रपुर–१ दशरथपुरका २२ वर्षीय भगिराज विश्वकर्मा र सोही स्थानका १८ वर्षीय निर्मल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले किराना पसलको सटरको ताल्चा फोडेर नगद १० हजार, एनसेलको रिचार्ज कार्ड तीन हजार र किराना सामानहरू अन्दाजी पाँच हजार गरी करिब १८ हजार रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बनियानीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



