२०८२ फागुन ८ शुक्रबार
Jhapa Today
Adv top

सिके प्रसाईं स्मृति दिवसमा पूर्वसांसद सिटौलालाई सम्मान


बिर्तामोड, फागुन ८ । झापाको सिके चिन्तन प्रतिष्ठानले प्रजातान्त्रिक सेनानी डिल्लीप्रसाद सिटौलालाई सम्मान गरेको छ । झापा बिर्तामोडका सिटौला पूर्वसांसद समेत हुन् ।

प्रतिष्ठानले ३२ औँ सिके प्रसाईं (भरत बाबु) स्मृति दिवसको अवसरमा आज सिटौलालाई सम्मान गरेको हो । सोही अवसरमा सिके प्रसाईंको व्यक्तित्व र प्रजातान्त्रिक समाजवाद विषयमा विचार गोष्ठी समेत भएको छ ।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय सिके प्रसाईंको बहुआयामिक व्यक्तित्व, प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता तथा सरल राजनीतिक जीवनशैलीबारे चर्चा गरेका छन् । सहभागीहरूले उनका विचार, जीवनदर्शन र योगदान स्मरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटीले सिके प्रसाईंलाई “कांग्रेसको इन्साइक्लोपेडिया” को संज्ञा दिँदै उनको व्यक्तित्वमा समाजवादको पूर्ण अभ्यास र स्पष्ट वैचारिक व्याख्या रहेको बताए ।

राजनीतिमा रुचि राख्ने सबैले ‘सिकेको सरल राजनीति’ पुस्तक पढ्नुपर्ने उल्लेख गर्दै उनले प्रसाईंले दैनिक बिहान ४ देखि ५ बजेसम्म नियमित लेखन गर्ने गरेको स्मरण गरे ।

कार्यक्रममा सम्मानित व्यक्ति पूर्वसांसद सिटौला, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, पूर्वकेन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर २ की उम्मेदवार सरिता प्रसाईं, पूर्वमन्त्री खगेन्द्रप्रसाद प्रसाईं, साहित्यकार कृष्ण धराबासी, वरिष्ठ अधिवक्ता लीला उदासी, अधिवक्ता लक्ष्मी खनाल कोइराला लगायतले सिके प्रसाईंसँगै उनकी स्वर्गीय पत्नी तथा राजनीतिज्ञ गिरीराजकुमारी प्रसाईंको योगदानको सम्झना गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष सजेश शिवाकोटीले स्वागत गरेका थिए भने सञ्चालन महासचिव इन्दु पूर्वेलीले गरेकी थिइन् ।

Adv footer