२०८२ फागुन १० आइतबार
Jhapa Today
Adv top

पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने


बिर्तामोड, फागुन १० । झापा साइक्लिङ क्लबले स्थापनाको पहिलो भव्य कार्यक्रमको रुपमा घुमौँ झापा साइकलमा आयोजना गर्ने भएको छ । कार्यक्रम दुई रात तीन दिनको हुनेछ ।

कार्यक्रम फागुन ३०, चैत १ र २ गते हुने क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमअन्तर्गत झापाका विभिन्न १२ पालिकाहरुको यात्रा गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा तय हुनेछ । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका सचिव हिमाल खरेलले जानकारी दिए ।

पर्यटन कार्यालय, काँकरभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी-४९ धारा-मदन भण्डारी राजमार्ग-बर्ने चिया बगान-अर्जुनधारा जलेश्वरधाम-अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुंगिनेछ ।

दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माईधार-चिल्लागढधाम-शिवगञ्ज बजार-चौरी-हुलाकीमार्ग-झापा बजार-राजगढ-जलथल जंगल बनियानी हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुंगिनेछ ।

तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध-भद्रपुर-हल्दिबारी हुँदै विराटपोखरी भएर बिर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यात्रामा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयमसेवक रहनेछन् । कार्यक्रममा कम्तिमा २० प्रतिशत महिला र कम्तिमा २० प्रतिशत झापाबाहिरका सहभागी हुनेछन् ।

झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न, पूर्वी नेपालमा दिगो तथा शून्य–फोहोर पर्यटन प्रवद्र्धन गर्न, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको सचिव खरेलले बताए ।

त्यस्तै, महिला तथा युवाको बाहिरी तथा साहसिक गतिविधिमा सहभागिता बढाउन, आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्र (होटल, होमस्टे, भोजन सेवा) लाई सहयोग पुर्‍याउन, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भूभागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यको रूपमा चिनाउन कार्यक्रम गरिएको हो ।

कार्यक्रममार्फत झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्दै साइकललाई वातावरणमैत्री र समावेशी पर्यटन माध्यमको रूपमा स्थापित गर्न खोजिएको छ । कार्यक्रमको मुख्य प्रवर्तकको रुपमा पर्यटन कार्यालय काँकरभिट्टा झापा रहेको छ ।

Adv footer