
बिर्तामोड, फागुन १२ । चुनाव बिथोल्न सक्ने समूहको निगरानी गर्दै सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले निर्देशन दिए जस्तै सुरक्षा निकायहरूले पनि चुनाव बिथोल्ने समूहहरूको निगरानी गरिरहेको बताएको छ ।
सुरक्षा स्रोतका अनुसार विभिन्न १२ वटा समूह प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारमा लागेका छन् । १२ समूहबाट निर्वाचनमा सुरक्षा थ्रेट हुनसक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन् ।
कम्युनिस्ट पार्टीदेखि राजावादीसम्मबाट सुरक्षा चुनौती हुनसक्ने प्रहरीको विश्लेषण छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहदेखि अन्य राजावादी समूह र विभिन्न पार्टीहरुबाट चुनावी सुरक्षामा चुनौती हुनसक्ने बताइएको छ । प्रसाईंकै समूहको पिडिएफ (पब्लिक डिफेन्स फोर्स) र एटिएफ (एनी टाइम फोर्स) लाई पनि चुनाव बिथोल्न सक्ने समूहमा राखिएको छ ।
त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले चुनाव बिथोल्ने प्रकृतिको अभिव्यक्ति दिएपछि उनीनिकट समूहलाई पनि प्रहरीले निगरानीमा राखेको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्रले राष्ट्रिय सहमति र समझदारीमा जोड दिएका थिए । शाहले अहिलेको निर्वाचनले निकास नभई द्वन्द्व, अशान्ति र खिचातानी ल्याउन सक्नेसमेत दाबी गरेका थिए ।
त्यसपछि शाहनिकट समूह शाही युवा शक्ति नेपाललाई निर्वाचन बिथोल्न सक्ने समूहमा राखिएको छ । यो समूहका पशुपति खड्कादेखि सन्तोष राजावादीसम्म सुरक्षा संयन्त्रको निगरानीमा छन् ।
सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत पनि चुनाव बिथोल्न सक्ने समूहमा छन् । सिपी गजुरेलले बिनाकारण चुनाव गर्न लागिएकाले यसको औचित्य नै नभएको बताएका छन् ।
विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महेन्द्र मल्लको नेकपा जनपक्ष, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपालको एउटा समूह, पहिचानवादी समूह, मंगोल नेसनल अर्गनाइजेसन र रोहिंग्या अर्थात् शरणार्थीहरूलाई पनि निर्वाचनमा चुनौती हुनसक्ने समूहमा राखिएको छ ।
रोहिंग्यालाई भने कसैले निर्वाचन बिथोल्न प्रयोग गर्नसक्ने भएकाले निगरानीमा राखिएको एक सुरक्षा अधिकारी बताउँछन् । ‘उनीहरूको पहिचान शरणार्थी बाहेक केही छैन । कसैले सहजै प्रयोग गर्नसक्ने उच्च जोखिम भएकाले रोहिंग्यामाथि पनि निगरानी आवश्यक छ,’ ती सुरक्षा अधिकारी भन्छन् ।
पछिल्लो चार महिनादेखि प्रहरीले निर्वाचन बिथोल्न सक्ने समूह, तिनले पार्न सक्ने प्रभाव, उनीहरूको शक्ति, सांगठनिक हैसियत र सम्भावित सुरक्षा चुनौतीको मसिनो रूपमा विश्लेषण गरेको दाबी गर्दै आएको छ ।
अहिले नेपाल प्रहरीले कार्य विभागका एसएसपी दयानिधि ज्ञवालीको कमान्डमा निर्वाचन सुरक्षा विश्लेषण महाशाखा गठन गरेर काम गरिरहेको छ । यो महाशाखाले देशभरका प्रहरी चौकीदेखि इलाका, जिल्ला प्रहरी कार्यालयहरूदेखि प्रदेश प्रहरी कार्यालयहरूसम्मबाट रिपोर्टिङ लिएर सुरक्षा विश्लेषण गर्दै सोहीअनुसार रणनीति बनाएको छ ।



