२०८२ फागुन १३ बुधबार
Jhapa Today
Adv top

विदेशमा रहेका २७ लाख नेपाली चुनावमा वञ्चित हुँदै


बिर्तामोड, फागुन १३ । वैदेशिक रोजगारीमा रहेका २७ लाख नेपाली आसन्न प्रतिनिधिसभा सदस्यको चुनावमा मताधिकारबाट वञ्चित हुने भएका छन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकामध्ये २५ लाख २८ हजारले काम गरिरहेका छन् । पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगार विभागबाट ३१ लाख ४८ लाख जना श्रमस्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए ।

प्रमुख गन्तव्य देशमा रहेका सरकारले गत जनवरीसम्म नेपाली दूतावासलाई दिइएको विवरणअनुसार भने आवासीय अनुमति लिएर मात्रै काम गरिरहेका नेपालीको संख्या २७ लाख छ ।

सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा ९ लाख, मलेसिया चार लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, जापानमा २ लाख ७४ हजार, कुवेत १ लाख ७५ हजार, रोमानियामा ६० हजार, कोरियामा ५० हजार, पोर्चुगलमा ५० हजार, क्रोएसियामा ४० हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार कार्यरत छन् । यसमा युरोपमा कागजातविहीन भएर बसेका नेपालीको विवरण भने छैन ।

पछिल्लो पाँच वर्षको श्रम स्वीकृति हेर्दा यो तथ्यांक नजिक देखिन्छ । विभागबाट ३१ लाख ४८ हजार नेपाली विश्वका १ सय ४८ भन्दा बढी देशमा फैलिएका छन् । जसमध्ये श्रम स्वीकृति लिई जानेमा सबैभन्दा बढी खाडी र पूर्वी एसियामा केन्द्रित छन् ।

पछिल्लो पाँच वर्षमा सबैभन्दा बढी विदेश जाने प्रमुख १० जिल्ला क्रमशः धनुषाबाट १ लाख ७७ हजार, झापाबाट १ लाख ४२ हजार, सिरहाबाट १ लाख ३७ हजार, मोरङबाट १ लाख २५ हजार, महोत्तरीबाट १ लाख २४ हजार र सुनसरीबाट ९९ हजार छन् ।

त्यस्तै रूपन्देहीबाट ९७ हजार, सप्तरीबाट ८६ हजार, चितवनबाट ७३ हजार र तनहुँबाट ६८ हजारजना रहेको विभागको तथ्यांक छ ।

Adv footer