बिर्तामोड, फागुन १३ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई मंगलबार नै सर्वोच्च अदालतले छोड्न आदेश जारी गरेको भए पनि कार्यालय समयमा आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि आज मात्रै हिरासतमुक्त भएका हुन् ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो ।
उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई प्रहरीले फागुन ४ गते काठमाडौँबाटै पक्राउ गरेको थियो ।
प्रसाईंले आफूलाई राज्यले पुनः पक्राउ गर्न सक्ने बताए । तर, देश र जनताको पक्षमा बोल्दा जस्तोसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको उनको भनाइ छ ।
प्रसाईंले भने, ‘मलाई फेरि पनि समात्न सक्छन्, म तयार छु । तर म रुन्नँ, मेरो आँखाबाट आँसु झर्दैन । देशको अवस्था देखेर मेरो हृदय भने फुटेको छ ।’



