बिर्तामोड, फागुन १३ । निर्वाचन आयोगले बदर मत घटाउने उद्देश्यसहित प्रत्येक निर्वाचनमा मतदाता शिक्षा कार्यक्रममा जोड दिँदै आए पनि बदर मत संख्या बढिरहेको छ ।

२०४६/४७ को राजनीतिक परिवर्तनयताको ३५ वर्षमा सातवटा आमनिर्वाचन भएको छ । आठौँ आमनिर्वाचन फागुन २१ गते तय गरिएको छ । यसअघिका ७ वटा निर्वाचनमध्ये २०५१ र २०५६ को आमनिर्वाचनमा क्रमशः बदर मत संख्या घटेको देखिन्छ । तर, २०६४ यता बदर मतको ग्राफ उकालो लाग्दै गएको छ ।
२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिशत बदर भयो । जुन २०४८ को चुनावभन्दा बढी थियो । आयोगले २०७९ को चुनावमा मतदाता शिक्षाका लागि भन्दै २५ करोड खर्च गरेको थियो ।
२०४८ को आमनिर्वाचन गराएका पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ पछिल्ला निर्वाचनमा बदर मत बढ्नुमा चुनावी प्रतिस्पर्धामा धेरै राजनीतिक दल हुनुलाई प्रमुख कारण रहेको बताउँछन् ।
२०४८ को निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७ सय ७७ मतदाता रहेकामा ६५.१५ प्रतिशत ७२ लाख ९१ हजार ८४ जनाले मतदान गरेका थिए । त्यतिबेला खसेको मतको ४.४२ प्रतिशत ३ लाख २२ हजार २३ मत बदर भएको थियो ।
२०४८ को चुनावपछि २०५१ र २०५६ को चुनावसम्म आइपुग्दा बदर मत प्रतिशत घट्दै गएको देखिन्छ । २०५१ को मध्यावधि चुनावमा ३.१६ र २०५६ को आमनिर्वाचनमा २.७९ प्रतिशत मत बदर भएको थियो ।
२०६४ को संविधानसभा निर्वाचनदेखि फेरि उकालो लाग्न थाल्यो । २०६४ मा ५.१५, २०७० मा ४.९६, २०७४ मा ५.१८ प्रतिशत मत बदर भएको थियो ।
२०७९ को निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) ले मतदान गरेका थिए ।
उक्त चुनावमा प्रत्यक्षतर्फ ५.०६ प्रतिशत अर्थात् ५ लाख ५९ हजार ७६ मतदाताले खसालेको मत बदर हुन पुगेको थियो । समानुपातिकतर्फ ५.०९ प्रतिशत बदर भएको थियो ।
निर्वाचन आयोगले गरेको एक अध्ययनका अनुसार महिला साक्षरता कम भएका क्षेत्रमा बदर मतको संख्या बढी पाइएको छ ।



