२०८२ फागुन १३ बुधबार
Jhapa Today
Adv top

उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मीः उमेश डालमिया जिल्ला नगर उपाध्यक्षमा सशक्त उम्मेदवार


बिर्तामोड, फागुन १३ । निजी क्षेत्रको व्यावसायिक छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) को चुनावी सरगर्मी बढेको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको ६० औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

तीन दशकदेखि उद्योग वाणिज्य क्षेत्रमै निरन्तर सक्रिय रहेका झापा बिर्तामोडका उमेश डालमिया आगामी निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवार छन् । महासंघको लगातार तीनपटक केन्द्रीय सदस्य उनी हाल व्यापार मेला समितिको सभापति छन् ।

धरानबाट सुरु भएको ६० वर्षीय डालमियाको यात्राले झापाको व्यावसायिक क्षेत्रमा दशकौँको अनुभव बटुलेको छ । उद्योग वाणिज्य क्षेत्रका विभिन्न तहमा नेतृत्व गरेको अनुभव उनीसँग छ ।

२०५१ सालमा तत्कालीन झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडको सदस्य भएका उनी संघको सचिव हुँदै २०५६ सालमा अध्यक्ष बने । त्यसपछि डालमिया झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल उपाध्यक्ष र २०६८ देखि २०७२ सम्म अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए ।

महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष (वस्तुगत) हेमराज ढकालले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । ढकालकै प्यानलबाट डालमिया जिल्ला नगर उपाध्यक्ष पदको उम्मेदवार बनेका हुन् ।

पछिल्लो दशक सञ्चार उद्यमीका रुपमा चिनिएका डालमियाको हिमालय सिमेन्ट, दुर्गा स्टिल, डालमिया ट्रेडिङ, भ्रमण आइरन लगायतका उद्योग व्यापारमा नेतृत्वदायी संलग्नता रहँदै आएको छ ।

उनी जिल्ला तथा नगरका व्यवसायीहरूका समस्यालाई नजिकबाट बुझ्दछन् । साना तथा मझौला उद्यमीहरूलाई आफूले नजिकबाट बुझेकाले यस क्षेत्रका उद्यमीहरूका लागि सक्रिय भएर काम गर्ने उनको प्रतिबद्धता छ ।

जिल्ला र नगरका व्यवसायीहरूले भोग्नुपरेको दोहोरो कर, प्रशासनिक झन्झट, चर्को बैङ्क ब्याजदर र नीतिगत अस्थिरताले व्यवसाय बन्द हुने अवस्था आएकोप्रति उनी गम्भीर छन् ।

डालमियाले केन्द्र र जिल्लाबीचको दूरी हटाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन ‘डिजिटल प्लेटफर्म’ को प्रयोग गर्ने, कर नीतिमा सुधार गर्ने र साना तथा मझौला व्यवसायीलाई तालिम तथा प्रविधिको पहुँच पुर्‍याउने उनको योजना छ ।

Adv footer