
बिर्तामोड, फागुन १४ । निर्माणाधीन एसियन हाइवेको काँकरभिट्टा–लौकही पूर्वी खण्डमा १३ किलोमिटर कालोपत्र भएको छ । पूर्वपश्चिम राजमार्ग विभिन्न खण्डमा विस्तार भइरहेको छ ।
कुल ९५.७६ किलोमिटर सडक विस्तारको योजनामध्ये पूर्वी खण्ड (काँकरभिट्टादेखि ४५ किलोमिटर पश्चिम) मा हालसम्म १३.२५ किलोमिटर सडकको एकतर्फी कालोपत्र (डिबिएम) सकिएको छ ।
काँकरभिट्टा–लौकही सडक योजना, पूर्वी खण्डका योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म सडक विस्तारतर्फ ३६ प्रतिशत र पुल निर्माणतर्फ २५ प्रतिशत भौतिक प्रगति भएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा ४५ किलोमिटरमध्ये ३० किलोमिटर खण्डमा दुवैतर्फ कालोपत्रको पहिलो तह (डिबिएम) सकाउने लक्ष्यका साथ काम भइरहेको पन्तले जानकारी दिए ।
हाल दुई लेन रहेको सडकलाई चार लेनमा विस्तार गरिँदैछ । सडकको बीचमा तीन मिटरको डिभाइडर रहनेछ भने दुवैतर्फ १०–१० मिटरको पिच हुनेछ । सहरी क्षेत्रमा सडकको स्वरूप अझ फराकिलो हुनेछ ।
योजना प्रमुख पन्तका अनुसार सहरी क्षेत्रमा दायाँ–बायाँ ६.५ मिटरको ’सर्भिस लेन’ थपिनेछ, जसले सडकलाई कुल आठ लेनको बनाउनेछ । त्यस्तै, अर्धसहरी क्षेत्रमा साढे ३ मिटरको सर्भिस लेनसहित सडक ६ लेनको हुनेछ ।
यस सडकखण्डमा साना–ठुला गरी थुप्रै पुल र कल्भर्टहरू निर्माण भइरहेका छन् । पूर्वी खण्डमा मात्रै १९ वटा पुल र १५२ वटा कल्भर्टहरू रहेका छन् । यसबाहेक ३०० मिटरभन्दा लामा ठुला पुलहरूको निर्माणका लागि छुट्टै प्याकेजमार्फत काम भइरहेको छ ।
यो योजनाको विशेषता भनेको १५ मिटर स्पानको ‘एलिफेन्ट अण्डरपास’ (हात्ती हिँड्ने पुल) हो, जसले वन्यजन्तुको आवतजावतलाई सहज बनाउने र दुर्घटना न्यूनीकरण गर्ने विश्वास गरिएको छ ।


