
बिर्तामोड, फागुन १४ । झापामा नसर्ने रोगका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने झापामा नसर्ने रोगका बिरामी बढ्दै गएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले आज भद्रपुरमा आयोजना गरेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य साक्षरता अभियान कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार झापामा सबैभन्दा बढी नसर्ने रोगका बिरामी मेचीनगरमा छन् भने सबैभन्दा कम झापा गाउँपालिकामा रहेका छन् ।
झापामा आर्थिक वर्ष २०७९/८० मा ८१ हजार ९७८ जना नसर्ने रोगका बिरामी थिए भने आर्थिक वर्ष २०८०/ ८१ मा बढेर २ लाख ४२ हजार ६४१ पुगेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ४ लाख ४७ हजार ६२२ जना पुगेको छ । प्रत्येक वर्ष बिरामीको संख्या दोब्बरभन्दा बढी बढिरहेको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०८१/८२ मा मेचीनगरमा १ लाख ४६ हजार ९७, बिर्तामोडमा ९२ हजार ५२७, दमकमा ८४ हजार ३४५, कनकाईमा २५ हजार ६४० र बुद्धशान्तिमा २१ हजार ९१८ जना नसर्ने रोगका बिरामी भटिएका थिए ।
तथ्यांकअनुसार सबैभन्दा बढी नसर्ने रोग उच्च रक्तचाप, मधुमेह, सिओपडिी अर्थात फोक्सोसम्बधी रोग, क्यान्सर र सिभिडी अर्थात मुटुसम्बन्धी रोग रहेका छन् । यी रोगबाट प्रभावितको संख्या प्रत्येक वर्ष बढिरहेको श्रेष्ठले जानकारी दिए ।
कार्यालयका प्रमुख बृजकुमार दासको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल र प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेले नसर्ने रोग तथा मानसिक स्वास्थ्य साक्षरता अभियानमा सबै एक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमकै अवसरमा सहभागी सञ्चारकर्मी र स्वास्थ्यकर्मीको रक्तचाप, उचाइ, तौल तथा मधुमेह जाँच गरिएको थियो ।


