
बिर्तामोड, फागुन १६ । झापाको बिर्तामोडमा दुईवटा सवारीसाधन ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना भित्री सडकखण्डमा हिजो राति भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१३ चारआलीका २५ वर्षीय विशाल पौडेल रहेका छन् । उनको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।
हिजो राति ०९ः२० बजे बिर्तामोड-४ स्थित निर्माणाधीन नागरिक सामुदायिक अस्पतालअगाडि हर्कलाल मार्गमा कार र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका कनकाई-६ का २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते भएका छन् । उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
प्रहरीले कार चालक बिर्तामोड ६ का २५ वर्षीय चिराग सिन्हालाई नियन्त्रणमा लिएको छ । घटनाकारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


