बिर्तामोड, फागुन १९ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौँमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले आज बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको जानकारी दिए ।
‘बिहान ३ बजे आसपास आगजनी भएको हो । भित्र दुर्गा प्रसाईंको पर्चा भेटिएको छ,’ उनले भने, ‘सवारीधनीले हामीलाई यस्तो भएको भन्नुभएको छैन । हामी अनुसन्धान गर्दैछौँ ।’
प्रहरी उपरीक्षक भट्टराईले सवारीसाधनमा भएको आगजनीको पुष्टि गरेका छन् । उनका अनुसार सुकेधारा बा. ७ च १४०१ र नैकापमा बिएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।


