
बिर्तामोड, फागुन २० । देशकै प्रमुख चासो र ध्यानकेन्द्रित भएको झापाको क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाली सेनाले मतदान केन्द्रसँगै मतगणनास्थलको तयारी गरेको छ ।
झापा ५ को मतगणना निर्वाचन अधिकृतको कार्यालय रहेको दमकको अर्ग्यानिक कृषि भवनमा हुने भएको छ । भोलि मतदान सम्पन्न भइसकेपछि झापा ५ को ६१ वटा मतदानस्थलको मतपेटिका गणनाका लागि त्यस भवनमा लगिने भएको छ । मतगणनाका लागि मतगणनास्थलको तयारी भइसकेको नेपाली सेनाका एक अधिकारीले बताए ।
सेनाको प्रत्यक्ष संलग्नतामा मतगणनास्थलको व्यवस्थापन गरिएको हो । मतगणना बिथोल्न नसक्नेगरी मतगणनास्थलको व्यवस्थापन गरिएको ती अधिकारीले बताए । सेनाले अन्तिम मत परिणाम नआइन्जेलसम्म मतगणनास्थलको पहरा दिने योजना बनाएको ती अधिकारीले बताए ।


