
बिर्तामोड, फागुन २१ । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो सात महिनामा चाँदीको आयातमा कीर्तिमानी वृद्धि भएको छ । जसले नेपाली बजारमा चाँदीप्रति लगानीकर्ताको आकर्षण देखिएको पुष्टि गर्दछ ।
भन्सार विभागको तथ्यांकअनुसार सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ माथि पुगेका बेला पनि चाँदीमा लगानी गर्ने क्रम तीव्र बनेको देखिएको छ । चाँदीको आयात मूल्य तथा परिमाणका हिसाबले विगतका सबै रेकर्ड तोडिएको छ ।
माघ मसान्तसम्ममा अवधिमा कुल २४ अर्ब ९१ लाख ८९ हजार रुपैयाँको ८ करोड २४ लाख ७ हजार ६८९ ग्राम चाँदी आयात भएको छ । उक्त परिमाणमा चाँदी आयात हुँदा २ अर्ब ४० करोड ९ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसमध्ये १५ अर्ब २० करोड ६३ लाख ७१ हजार रुपैयाँको ४ करोड ९२ लाख ३० हजार ८३४ ग्राम प्लेटिनमले जलप लगाएको चाँदी, ३३ करोड ८८ लाख २८ हजार रुपैयाँको १५ लाख ४० हजार ३३५ चाँदी र ८ अर्ब ४६ करोड ३९ लाख ९० हजार रुपैयाँको ३ करोड १६ लाख ३६ हजार ५२० ग्राम धुलो चाँदी आयात भएको उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ४९ लाख ७७ हजार रुपैयाँको २ करोड ९१ लाख ५९ हजार ५९५ ग्राम चाँदी आयात भएको थियो । उक्त परिमाणमा चाँदी आयात हुँदा ४६ करोड २४ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको उल्लेख छ ।
यसमध्ये २ अर्ब ७५ करोड ३५ लाख ३२ हजार रुपैयाँको २ करोड ४८ हजार ८२ ग्राम चाँदीको धुलो आयात भएको थियो । त्यस्तै, १ अर्ब २५ करोड १० लाख १५ हजार रुपैयाँको ९१ लाख १० हजार ग्राम प्लेटिनमले जलप लगाएको चाँदी आयात भएको थियो । ४ लाख ३१ हजार रुपैयाँको १ हजार ५१३ ग्राम चाँदी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
सुनको उच्च मूल्य र लगानीमा रहेको प्रतिबन्धका कारण धेरै लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित भएको व्यवसायी बताउँछन् ।
चाँदीको मूल्यमा भइरहेको तीव्र वृद्धि र थप बढ्ने हल्लाले यसलाई लगानीको एक आकर्षक साधनको रूपमा स्थापित गरेको छ ।
व्यवसायीका अनुसार अहिले चाँदीको प्रयोग भाँडाकुँडाभन्दा पनि लगानीका लागि ढिक्काको कारोबारका रूपमा बढी भइरहेको छ, जसले यसको माग र आयात बढ्दै गएको देखिन्छ ।


