
बिर्तामोड, फागुन २१ । सुनको मूल्य उच्च वृद्धि हुँदा पनि आयात भने घट्न सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा २२ अर्ब ३४ करोड १४ लाख ७८ हजार रुपैयाँको १२ लाख २० हजार ६३२ ग्राम सुन आयात भएको छ ।
उक्त परिमाणमा सुन आयात हुँदा २ अर्ब २३ करोड ५४ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कुल आयातमध्ये २१ अर्ब २० करोड ७ लाख ९८ हजार रुपैयाँको रुपैयाँको ११ लाख ५४ हजार ११३ ग्राम काँचो सुन आयात भएको छ ।
त्यस्तै, १ अर्ब १४ करोड ६ लाख ८० हजार रुपैयाँको ६६ हजार ५१९ ग्राम सुनका गरगहना आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब ३३ करोड ७२ लाख १६ हजार रुपैयाँको १० लाख ५२ हजार ७१२ ग्राम सुन आयात भएको थियो । उक्त परिमाणमा सुन आयात हुँदा १ अर्ब ४९ करोड २९ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसमध्ये १० अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँको ८ लाख ८७ हजार ३२८ ग्राम काँचो सुन र १ अर्ब ८८ करोड २२ लाख ९४ हजार रुपैयाँको १ लाख ६५ हजार ३८४ ग्रामका गरगहना आयात भएको उल्लेख छ ।
यस वर्ष सुनको मूल्य अत्यधिक बढे पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुन आयातको कुल मूल्य करिब १० अर्ब रुपैयाँले बढेको छ भने परिमाण पनि करिब १ लाख ६७ हजार ९ सय २० ग्रामले वृद्धि भएको छ । यसले उच्च मूल्यका बाबजुद बजारमा सुनको माग उच्च रहेको स्पष्ट देखाउँछ ।


