
बिर्तामोड, फागुन २२ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिएर मतपरिणाम आइसक्न लाग्दा पनि झापामा खाना पकाउने ग्यास अभाव कायमै रहेको छ । झापामा तीन सातादेखि ग्यासको अभाव छ ।
झापाका बजार र ग्रामीण क्षेत्रमा ग्यास पाउन कठिन भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । झापामा मेची, त्रिशक्ति, पाथिभरा ग्यास प्रयोग हुँदै आएका छन् ।
तर, मागअनुसारको ग्यास उपलब्ध नभएको बिर्तामोडका बिक्रेता पूर्ण तामाङले झापा टुडेलाई जानकारी दिए । ग्यासको अभावका कारण उपभोक्ता मारमा परेका छन् ।
भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ । इरान इजरायल अमेरिका युद्धले पनि इन्धन संकट निम्तिएको हो ।
ग्यास नपाएपछि धेरै उपभोक्ताले साथीभाइ तथा छिमेकीसँग भएको ग्यास सापटी मागेर प्रयोग गरिरहेको बताउँछन् । चुनावपछि ग्यास अभाव नरहने विश्वास गरिए पनि सहज नभएको तामाङले बताए ।
नेपाल आयल निगमको व्यवस्थापकीय लापरबाहीले खाना पकाउने एलपी ग्यासको चरम अभाव कायम भएको हो । उपभोक्ता खाली सिलिन्डर काँधमा बाकेर भौँतारिरहनुपरेको छ ।


