
बिर्तामोड, फागुन २५ । झापाको चुनावी नतिजा सार्वजनिक भएपछि त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल विवादमा तानिएका छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले चुनाव जितेमा ‘दिसा खाने’ जस्ता आपत्तिजनक अभिव्यक्ति दिएर चर्चामा आएका उनी यसपटक झापाबासीको आत्मसम्मानमै ठेस पुग्ने गरी गालीगलौजमा उत्रिएका हुन् ।
उनले सार्वजनिक गरेको भिडिओमा झापालीलाई ‘चोर’, ‘अपराधी’, ‘दुष्ट’ र ‘देश बेच्ने’ जस्ता अपमानजनक शब्द प्रयोग गरेका छन् । भिडिओमार्फत चुँडालले विशेषगरी दमकका बासिन्दाहरूलाई लक्षित गर्दै विकास धेरै भएर मत परिवर्तन गरेको भन्दै आक्रोश पोखेका छन् ।
‘निरज दाहाल’ नामका फेसबुक प्रयोगकर्ताले नेपाल प्रहरीको मेसेन्जरमा उजुरी पठाएको स्क्रिनसट नै सार्वजनिक गरेका छन् । उनले अन्य प्रयोगकर्ताहरूलाई पनि प्रहरीमा उजुरी गर्न आग्रह गरेका छन् भने ‘इराजन बस्नेत’ लगायतका अन्य प्रयोगकर्ताले पनि कारबाहीका लागि प्रहरीलाई मेसेज पठाएको स्क्रिनसट राखेका छन् ।
यद्यपि, सामाजिक सञ्जालमा व्यापक विरोध भइरहे पनि आधिकारिक रूपमा भने हालसम्म उजुरी नपरेको बुझिएको छ । साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले उक्त विवादास्पद र घृणात्मक टिप्पणीका बारेमा हालसम्म कुनै औपचारिक उजुरी प्राप्त नभएको जानकारी दिए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने उक्त भिडिओको बारेमा मौखिक जानकारी आएको बताए । उनले भने, “रवि चुँडालविरुद्ध यसअघि अन्य विषयमा पनि मुद्दा परेका रहेछन् । अहिले पनि घृणात्मक अभिव्यक्तिका कारण धेरै गुनासो आइरहेका छन् । यो एउटा साइबर अपराध पनि हो । हामी अनुसन्धान गर्दै छौँ ।”


