
बिर्तामोड, फागुन २६। आजभोलि गलत खानपान र अव्यवस्थित जीवनशैलीका कारण शरीर विभिन्न रोगहरूको जोखिममा पर्दै गएको छ। हाम्रो शरीरले भित्री अंगहरूको अवस्थाबारे समय–समयमा संकेत दिने गर्छ, तर पर्याप्त जानकारीको अभावमा धेरैले ती संकेतलाई सामान्य ठानेर बेवास्ता गर्छन्।
यही लापरबाहीले पछि गम्भीर समस्या निम्त्याउन सक्छ। पछिल्लो समय मिर्गौला सम्बन्धी रोगका बिरामी बढिरहेका छन्, र ढिलो पहिचानका कारण केहीमा मिर्गौला फेल हुने अवस्था समेत देखिएको छ। त्यसैले मिर्गौला फेल हुने प्रारम्भिक संकेतहरूबारे सचेत हुनु अत्यन्त आवश्यक छ।
मिर्गौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अंग हो। यसले रगत सफा गर्ने, फोहोर तथा विषाक्त पदार्थ बाहिर निकाल्ने र शरीरमा पानी तथा आवश्यक खनिजहरूको सन्तुलन कायम राख्ने काम गर्छ। मिर्गौला ठीकसँग काम गर्दा शरीर स्वस्थ र ऊर्जावान् महसुस हुन्छ। तर यसको कार्यक्षमतामा समस्या आउनासाथ शरीरले विभिन्न संकेत दिन थाल्छ।
यस्ता लक्षणलाई बेवास्ता नगर्नुहोस्
मिर्गौला सम्बन्धी समस्या सुरु हुँदा केही सामान्य देखिने तर महत्वपूर्ण लक्षण देखा पर्न सक्छन्। तीमध्ये प्रमुख लक्षणहरू यसप्रकार छन्–
कमरको तल्लो भाग वा करङ मुनि निरन्तर दुखाइ महसुस हुनु, जुन क्रमशः पेट वा तिघ्रासम्म फैलिन सक्छ।
सामान्य मात्रामा पानी पिए पनि बारम्बार पिसाब लाग्नु।
पिसाब गर्दा पोल्ने वा दुख्ने महसुस हुनु।
पिसाबको रंग असामान्य रूपमा गाढा देखिनु।
पिसाबमा रगत देखिनु, जुन गम्भीर संकेत हुन सक्छ।
बिहान उठ्दा आँखामुनि वा अनुहार सुन्निनु। मिर्गौलाले ठीकसँग काम नगर्दा शरीरमा पानी जम्मा भएर यस्तो समस्या देखिन सक्छ।
धेरै काम नगरे पनि लगातार थकान महसुस हुनु।
भोक कम लाग्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु।
छालामा लगातार खुजली हुनु।
सास फेर्न गाह्रो हुनु वा सानो गतिविधिमा पनि सास फुल्नु।
यी सबै लक्षणले मिर्गौलाले राम्रोसँग काम नगरेको र शरीरमा विषाक्त पदार्थ जम्मा भएको संकेत दिन सक्छन्। त्यसैले यस्ता संकेतलाई सामान्य ठानेर बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ।
के गर्ने ?
यदि माथि उल्लेखित लक्षणमध्ये एक वा बढी देखिएमा ढिलाइ नगरी चिकित्सकसँग परामर्श लिनुपर्छ। प्रारम्भिक चरणमै जाँच र उपचार सुरु गर्न सके मिर्गौलालाई गम्भीर क्षतिबाट जोगाउन सकिन्छ।
साथै, दैनिक पर्याप्त पानी पिउने बानी बसाल्नुपर्छ। सन्तुलित र पोषणयुक्त आहार लिनु आवश्यक छ। रक्तचाप र तौल नियमित जाँच गर्ने, मधुमेह भए नियन्त्रणमा राख्ने र समय–समयमा स्वास्थ्य परीक्षण गराउने बानीले मिर्गौला रोगको जोखिम कम गर्न मद्दत गर्छ।
सचेतना र समयमै उपचार नै मिर्गौला स्वास्थ्य जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। –एजेन्सी


