२०८२ फागुन २७ बुधबार
Jhapa Today
Adv top

मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित


बिर्तामोड, फागुन २७ । सरकारले मध्यपूर्वी देशहरूमा मागपत्र प्रमाणीकरण स्थगन गरेको छ । इजरायल-अमेरिका र इरानबीच युद्धका कारण सरकारले ती देशमा कामदार पठाउन आवश्यक पर्ने मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो ।

यसअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, अध्ययनका लागि जान एनओसी जारी गर्न रोकिएको थियो । अबदेखि ती देशबाट नेपालका लागि आउने कामदारहरूको मागपत्र प्रमाणीकरण समेत रोकिएको हो ।

यूएई, कतार लगायत देशमा रहेका नेपाली दूतावासले सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण सम्बन्धी कार्य अर्को सूचना जारी नभएसम्म अस्थायी रूपमा स्थगन गरिएको जनाएका छन् ।

त्यसका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोकत्वमा रहेको उच्चस्तरीय ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को २० फागुनमा बसेको बैठकले मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरेको थियो ।

सोही आधारमा परराष्ट्र मन्त्रालयको पत्राचारपछि मध्यपूर्वी देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले मागपत्र प्रमाणीकरण स्थगन गरेका हुन् ।

इरानले यूएई, कतार, ओमान, बहराइन, इजरायल लगायत देशमा रहेका अमेरिकी बेसक्याम्पहरूमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएका छन् । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चिन्ता बढ्दो छ ।

Adv footer