
बिर्तामोड, फागुन २८ । प्रहरीले दक्षिणी सीमावर्ती क्षेत्रबाट लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर कारोबारीलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेन ।
भारतबाट ब्राउन सुगर बोकेर मोटरसाइकलमा नेपाल आउँदै गरेका एकजना भारतीय कारोबारी भाग्न सफल भएका हुन् । उनले माटरसाइकल भने छोडेर भागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ ५ बजे झापा गाउँपालिका वडा नम्बर-५ बिरिङ पुलबाट बिआर ३७ भि ४२१२ नम्बरको मोटरसाइकलमा ती व्यक्तिले ब्राउन सुगर भित्र्याउन खोजेका थिए ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले मोटरसाइकल नियन्त्रणमा लिने उद्देश्यले बिरिङ पुलबाट पछ्याएको थियो ।
मोटरसाइकल तीव्र गतिमा कुदाएर बाह्रदशी-३ खड्गबस्ती जाने बाटोमा मोटरसाइकल छोडेर कारोबारी फरार भएको प्रहरीले जनाएको छ ।
कारोबारीले प्लास्टिकसहित ९५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर फालेर मकैबारीतर्फ भागेका थिए । उनको खोजी भइरहेको बताइएको छ ।


