
बिर्तामोड, फागुन २८ । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भारत दार्जिलिङका प्रसिद्ध साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई प्रदान गरिने भएको छ ।
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान खालिङलाई प्रदान गर्न लागिएको प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतले जानकारी दिए ।
दार्जिलिङमा जन्मिएर उच्च शिक्षा अध्ययन गरेका तथा जीवनभर नेपालमै सेवा गर्दै नेपाली समाज, भाषा, साहित्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका खालिङलाई मरणोपरान्त उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
खालिङको कामको उच्च सम्मान गर्दै यही फागुन ३० गते एक समारोहका बीच सो सम्मान प्रदान गरिने आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठान सभापति बस्नेतले जानकारी गराएका हुन् ।
प्रतिष्ठानका सभापति बस्नेतको अध्यक्षतामा बसेको बैठकले समाज रुपान्तरणका पक्षमा उल्लेख्य योगदान पु¥याएको भन्दै यो वर्षको सम्मान खालिङलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतिष्ठानले विगत तीन दशकदेखि समाज परिर्वतनमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ ।
गत वर्ष आदर्श नागरिक सम्मानद्वारा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन युवराज वीरेन्द्र वीर विक्रम शाहलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्य भुर्तेललाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
फागुन ३० गते बिर्तामोडस्थित ग्रिन फिल्ड वल्र्ड स्कुलको सभाहलमा आयोजना गरिने सो कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी राजेश खड्का रहनेछन् । त्यस्तै, स्वर्गीय खालिडका परिवारजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने कार्यक्रम रहेको छ ।


