
बिर्तामोड, फागुन २८ । प्रहरीले झापाको बिर्तामोडबाट सखुवाको काठसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । चिरान गरेको काठ बोकेको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा हल्दिबारी-१ बस्ने सञ्जय कार्की र विशाल लिम्बू रहेका छन् । उनीहरु पिकअपका चालक र सहचालक हुन् ।
सखुवाको सो काठको ओसारपसारको कुनै अनुमति नभएको प्रहरीले जनाएको छ । काठ झ्याल र ढोकाको फ्रेम रहेको प्रहरीको भनाइ छ ।
आज दिउँसो करिब १२ बजे बिर्तामोड ३ सैनिकमोडमा प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएको हो । चारआलीबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र–१–०१–००२ च ६५४३ नम्बरको पिकअपमा ६ वटा ढोका र ४ वटा झ्यालको चौकट रहेको छ ।


