२०८२ फागुन २९ शुक्रबार
Jhapa Today
Adv top

झापामा हावाहुरीको वितण्डाः तीनजनाको मृत्यु, एक घाइते


बिर्तामोड, फागुन २९ । झापामा हिजो राति आएको वर्षासहितको हावाहुरीले तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् भने लाखौँ रुपैयाँको भौतिक क्षति भएको छ ।

वर्षासहित आएको हावाहुरीले रुख ढल्दा किचेर हल्दिबारी-२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरतीको घटनास्थलमै मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा घरनजिक रहेको आँपको रूख ढलेर किच्दा उनको मृत्यु भएको थियो ।

त्यस्तै, हल्दिबारी-२ बस्ने ३७ वर्षीय सुनिलराम सोरेनको घरदेखि करिब ५ सय मिटरपूर्व खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । मिस्त्रीको काम सकेर घर आउँदै गरेका उनी मादक पदार्थ सेवन गरेका कारण पानी जमेको खेतमा लडेका थिए ।

त्यस्तै, अर्जुनधारा-४ रातेखालस्थित सयपत्री क्रसर छेउमा रहेको पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण कटुवाल पैनीको पानीमा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए ।

त्यस्तै, बिर्तामोड-५ धिमाल चोकमा सोलार बत्तीको पोल लड्दा प्र १–०१–०१२ प ३४३१ नम्बरको मोटरसाइकलका चालक बिर्तामोड ५ बस्ने ४६ वर्षीय सूर्य श्रेष्ठ घाइते भएका छन् ।

Adv footer