
बिर्तामोड, चैत ३ । झापाको दमकमा धारिलो हतियार प्रयोग गरी कुकुरलाई मार्ने एकजना युवा पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-५ घर भई हाल दमक-७ मा डेरा गरी बस्ने १७ वर्षीय अमित नेम्वाङ रहेका छन् ।
हिजो बिहान १०ः४० बजे दमक-६ नयाँ सब्जीलाइनमा रहेको रत्न खसी मासु पसलमा कुकुरले खसीको आन्द्रा खाइदिएको भन्दै चक्कु प्रहार गरेका थिए ।
नेम्वाङ दमक-७ बस्ने राजेन्द्र खड्गीले सञ्चालन गरेको रत्न खसी मासु पसलमा काम गर्ने कामदार हुन् । चक्कु प्रहरीबाट कुकुर मरेको थियो ।
घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि प्रहरी नायव निरीक्षक चन्द्रकुमारी चेम्जोङसहितको प्रहरी टोली खटिएर उनलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फौजदारी कानुनको पशुपंक्षी सम्बन्धी कसुर अनुसार कुकुरलाई मार्नेलाई कारबाही हुने व्यवस्था रहेको छ ।




