
बिर्तामोड, चैत ३ । प्रहरीले यौनधन्दा हुने बिर्तामो बसपार्क क्षेत्रका होटलबाट १६ जनालाई पक्राउ गरेको जनाएको छ । बसपार्कका होटलहरुमा यौनधन्दा र लागुऔषधको कारोबार बढ्दै गएपछि प्रहरीले छापा मारेको थियो ।
हिजो राति ९ः४५ बजे अर्जुनधारा-११ बसपार्कस्थित राईमान होटल एन्ड लजबाट शंकास्पद अवस्थामा भेटिएका १० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँच युवती छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा १८ देखि २४ वर्ष उमेरका युवतीहरु छन् । त्यस्तै, ग्राहकका रुपमा जाने चार भारतीय र एक नेपाली पुरुष पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
चार दिनअघि पनि बसपार्क क्षेत्रका होटलबाट ६ जना पक्राउ परेका थिए । होटलमा शंकास्पद अवस्थामा भेटिएका उनीहरुको साथबाट लागुऔषध पनि भेटिएको थियो ।
बिर्तामोड बसपार्कका करिब दुई दर्जन होटलहरुमा यौनधन्दा हुने गरेको बताइन्छ । युवती राखेर यौन व्यवसाय गर्नकै लागि त्यहाँका धेरै होटलहरु सञ्चालन गरिएका छन् ।




