
बिर्तामोड, चैत ३ । फागुन २९ गतेदेखि लागु हुनेगरी नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । संघले मूल्य घटाए पनि उपभोक्ताहरूले भने घटेको मूल्यमा राहत पाउन सकेका छैनन् ।
फार्ममा अन्डाको मूल्य घटे पनि बजारमा खुद्रा व्यापारीले उल्टै भाउ बढाएर बेचिरहेका छन् । कानुनी रूपमा कुनै पनि संगठनले मूल्य मिलेमतो गर्ने उद्देश्यले मूल्य निर्धारण गर्न नमिल्ने जानकारहरू बताउँछन् । तर, किसानले लागत मूल्य पाउन् भनेर समर्थन मूल्य तोक्ने गरेको नेपाल लेयर्स कुखुरापालक संघले दाबी गर्दै आएको छ ।
फागुन ११ गतेदेखि लागु हुनेगरी तोकिएको अन्डाको फार्म मूल्यअनुसार सबैभन्दा ठुलो अर्थात् एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ कायम गरिएको थियो ।
यसैगरी ठुलो अन्डाको मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ निर्धारण गरिएको थियो ।
संघको आधिकारिक निर्णयअनुसार अहिले एक्सएल अन्डाको फार्म मूल्य ४५५ रुपैयाँ, ठुलो अन्डाको ४४० रुपैयाँ र मिडियम अन्डाको ४१० रुपैयाँ तोकिएको छ ।
संघले चुनावअघि मूल्य बढेको भए पनि पछि खपत कम भएको भन्दै मूल्य घटाएको बताएको छ । चुनावअघि भने मागेजति पुर्याउन नसक्दा भाउ बढाउनुपरेको तर्क संघको थियो ।
यसमा ढुवानी र प्याकेजिङ खर्चबापत १ सय ३० रुपैयाँ जोड्दा पनि उपभोक्ताले निकै सस्तोमा अन्डा पाउनुपर्ने हो । घटेको मूल्यमा अन्डा पाउनु त कता हो कता, उपभोक्ता उल्टै पुरानो मूल्यभन्दा बढी तिर्न बाध्य छन् ।




