२०८२ चैत्र ४ बुधबार
Jhapa Today
Adv top

प्रधानमन्त्री कप क्रिकेटः कप्तान परिवर्तन गर्दै कोशीको टोली घोषणा


बिर्तामोड, चैत ४ । कोशी प्रदेश क्रिकेट संघले आसन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको क्रिकेट टोली घोषणा गरेको छ । यसअघिका नियमित कप्तान अंकित सुवेदीको सट्टा झापाकै सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा गरिएको हो ।

पूर्वकप्तान सुवेदी खेलमा बढी ध्यान दिने भन्दै टिमको कप्तानबाट पछि हटेका हुन् । कोशी प्रदेश क्रिकेट संघका सचिव टिकाराम पुरीका अनुसार विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा खेलाडी छनोट गरिएको थियो ।

प्रतियोगिताका लागि १५ खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । प्रतियोगितामा कप्तान थपलियासहित झापाबाट ६, मोरङबाट चार, उदयपुरबाट तीन, सुनसरी र इलामबाट एकएकजना खेलाडी छनोट भएको सचिव पुरीले बताए ।

प्रतियोगिताका लागि प्रशिक्षकमा राजकुमार प्रधान, व्यवस्थापकमा शशिशेखर झा र फिजियोमा विपिन भट्टराई रहेका छन् । टोलीमा झापाबाट थपलियासहित पूर्वकप्तन सुवेदी, समिर कार्की, ज्ञानेन्द्र श्रेष्ठ, आशिक राना मगर र विपिन महतो छन् ।

त्यस्तै, मोरङबाट उपकप्तान शाकिब हक, फिर्दोष अन्सारी, दिपेश कँडेल, प्रेम कामत, सुनसरीबाट रोहन साह, इलामबाट शिवांश बजगाईं तथा उदयपुरबाट सोनु अन्सारी, प्रभातकिरण हाङखिम र सुमन श्रेष्ठ चयन भएका छन् ।

बागमती र मधेस प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले नौवटा खेल खेल्नेछ । प्रतियोगितामा कोशीसहित सात प्रदेश, तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपिएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिता चैत ७ गतेदेखि २०८३ बैशाख ४ गतेसम्म हुनेछ । कोशी प्रदेशले आफ्नो पहिलो खेल मधेश प्रदेशविरुद्ध जनकपुरमा खेल्नेछ ।

Adv footer